जनकपुरधाम, २७ मंसिर । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सत्ता गठबन्धनको नेतृत्वमा बन्ने सरकारमा सहभागी हुने भएको छ ।

पार्टीका शीर्ष नेताहरुबीचको बैठकले पाँच दलीय गठबन्धनको नेतृत्वमा निर्माण हुने नयाँ सरकारमा सहभागी हुने निर्णय गरेको हो ।

नयाँ बन्ने सरकारलाई समर्थन गर्दै सरकारमा सहभागी हुने निर्णय भएको लोसपाका वरिष्ठ नेता शरतसिंह भण्डारीले बताए ।

‘हाम्रो कार्यकारिणी समिति बैठकले सरकारमा सहभागी हुनेबारे आधिकारिक निर्णय गरिने छ,’ भण्डारीले भने ।

लोसपाको कार्यकारिणी समिति बैठकले सरकार सञ्चालनका लागि साझा कार्यक्रम तय गर्नुपर्ने निर्णयसमेत गर्ने उनले बताए । यसका लागि गठबन्धनको बैठकमा प्रस्ताव लग्ने निर्णय भएको उनले बताए ।

आफूहरु चाँडै बैठक बसेर चुनावी समीक्षालगायत पार्टीको अन्य निर्णयहरु गर्ने भण्डारीले बताए ।

पार्टीका अर्का वरिष्ठ नेता राजेन्द्र महतो उपत्यका बाहिर रहेकोले कार्यकारिणी समितिको बैठकमा ढिलाइ भइरहेको छ ।

लोसपाले प्रतिनिधिसभामा ४ वटा सिट जितेको छ ।