जनकपुरधाम, २६ मंसिर । धनुषाको नगराईन नगरपालिकाका शिक्षक तथा कर्मचारीहरू विगत एक हप्तादेखि आन्दोलनमा हुँदा विद्यार्थीहरू पढाईबाट वञ्चित भएका छन् ।

सोही अवस्थालाई दृष्टिगत गर्दै विद्यार्थीहरूले सोमबार दोस्रो दिनपनि जनकपुर-जटही ६ लेन सडक खण्ड ३ घण्टा अबरुद्ध गरेका छन् ।अनेरास्ववियूका केन्द्रिय सदस्य आदर्श मण्डलको नेतृत्वमा विद्यार्थीहरू आन्दोलित भएका हुन् ।

एक साता देखि पठनपाठन ठप्प रहेको भन्दै उनीहरू आन्दोलनमा उत्रेका छन् ।नगरपालिकाको कामकाज ठप्प पार्दै शिक्षक तथा कर्मचारीहरू धर्नामा बसेपछि विद्यार्थीहरूले चक्काजाम गर्दै आन्दोलन गरेका छन् ।

लामो समयदेखि पठनपाठनसमेत ठप्प हुँदा अध्ययनमा असर परिरहेको भन्दै तत्काल विद्यालयमा पठनपाठन सञ्चालन गर्नुपर्ने आफूहरूको माग रहेको विद्यार्थी नेता मण्डलले जानकारी दिए ।उनले गरिब तथा जेहेन्दार विद्यार्थीहरू सरकारी विद्यालयमै पढ्नुपर्ने बाध्यता रहेको बताए ।

मेयर, उपमेयर तथा शिक्षकहरूले आ-आफ्नो छोराछोरीलाई नीजि विद्यालयमा पढाएर सरकारी विद्यालय बन्द गरी बिद्यार्थीको जिवनसँग खेलवाड गरेको उनले आरोप लगाए ।यता, नगरपालिकाले विगत ५ महिनादेखि शिक्षक, स्वास्थ्यकर्मी, कर्मचारीहरूको तलबभत्ता नदिएको भन्दै उनीहरू विद्यालय, स्वास्थ्य चौकी, वडा कार्यालय तथा विकास निर्माणलगायतका सम्पूर्ण कामकाज ठप्प गरेर विगत एक हप्तादेखि धर्नामा बसेका छन् ।