काठमाडौं, २६ मंसिर । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले राजनीतिक भेटवार्तालाई तीव्रता दिएका छन् । नयाँ सरकार गठनको तयारी भइरहेका बेला उनले राजनीतिक भेटवार्तालाई तीव्रता दिएका हुन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेपछि उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन् ।आइतबार राति भक्तपुरको बालकोट पुगेर ओलीलाई भेटेका उनले सोमबार ललितपुरस्थित खुमलटार पुगेर प्रचण्डलाई भेटेका हुन् ।

दुवै राजनीतिक भेटवार्तामा सरकार गठनसहित राजनीतिक, समसामयिक विषयमा कुराकानी भएको छ । सोमबार प्रचण्डको जन्मदिनसमेत परेकाले नेता केसीले शुभकामना पनि दिएका छन् ।

कांग्रेसमा सरकारको नेतृत्व लिन आधा दर्जनजति आकांक्षीमध्ये केसीका ज्वाइँसमेत रहेका महामन्त्री गगन थापा पनि छन् । कांग्रेस संसदीय दलको नेतासहित प्रधानमन्त्री बन्ने दौडमा थापा रहेका बेला केसीको राजनीतिक भेटवार्ता भएको हो ।