जनकपुरधाम, २५ मंसिर । धनुषाको नगराईन नगरपालिकाका उपमेयर, वडाध्यक्ष तथा बहुमत कार्यपालिका सदस्यहरुले नगरपालिकाको वर्तमान अवस्था अविलम्ब सुधार गर्नुपर्ने माग गरेका छन् ।

उपमेयर राधा देवी यादवको नेतृत्वमा आइतबार बसेको वडाध्यक्ष तथा बहुमत कार्यपालिका सदस्यको बैठकले विभिन्न निर्णयहरु गरेको हो ।

उपमेयर यादवले जनमतलाई कदर गरी नगर परिषदका लागि कार्यपालिका सदस्यहरुले दर्ता गर्नखोजको प्रस्ताव निर्वाधरुपमा दर्ता हुनुपर्ने, स्थानिय सरकार संचालन कार्यविधी २०७४ अनुसार परिषदपूर्व पालिका सञ्चालनका लागि आवश्यक विभिन्न क्षेत्रगत समितीहरुको पुर्णता दिनुपर्नेलगायतका माग गरेकी छन् ।

उनले नगराईन नगरपालिकाको विगतका सरकारवाट बहुमतको दम्भले पारित अप्रजातान्त्रीक बुँदा सहितका कार्यविधिहरु संशोधन हुनुपर्ने, विभिन्न क्षेत्रगत समितिहरुको छलफल गराई परिषदका लागि आधार तयार गराउनु पर्ने र नगर कार्यपालिकाका सबै सदस्यहरुको बैठक वसी परिषदको मिति तय गरी यथाशिघ्र नगर परिषद गर्नुपर्ने मागसमेत गरेकी छन् ।

उपमेयर यादवले परिवर्तन एवम् प्रगतीशिलमार्गका अवरोधक, बहुमतको सम्मान गर्न नचाहने र जनमतको अपमान गर्ने सोचले अभिप्रेरित स्वेच्छाचारी तथा तानाशाह नगर प्रमुख विनय यादवका कारण हालसम्म नगरबासीहरु विकासबाट बञ्चित रहेको जिकिर गरेकी छन् ।

पालिका अन्तर्गतका दलित, एकल महिला, वृद्धवृद्धाहरु सामाजिक सुरक्षा भत्ताबाट बञ्चित भएका छन् भने विभिन्न विद्यालय, स्वास्थ्य संस्थाहरुमा कार्यरत कर्मचारीहरुले हालसम्म पनि तलव भत्ता पाउन नसक्दा सबै कामहरु ठप्प भएका छन् ।