रेशम चौधरी र विप्लव कार्यकर्तालाई छुटाउन सरकारले ल्यायो अध्यादेश

काठमाडौं, २५ मंसिर । सरकारले टीकापुर घटनामा जन्मकैदको सजाय काटिरहेका रेमश चौधरीलाई छुटाउन अध्यादेश ल्याएको छ ।
नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी, विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र स्वतन्त्र समूहसँग भएका सहमति कार्यान्वयन गर्न सरकारले अध्यादेश ल्याएको हो ।
आइतबारको मन्त्रिपरिषद बैठकले नयाँ अध्यादेश ल्याएको छ । कैलालीमा २०७२ मा भएको ’टीकापुर काण्ड’मा चौधरी प्रमुख योजनाकार भएको भन्दै अदालतले दोषी ठहर गरेपछि उनी अहिले जेलमा छन् ।
यसअघि गत भदौ २७ को मन्त्रिपरिषद बैठकले टीकापुर घटना सम्बन्धमा कानुन संशोधन गरी मुद्दा खारेज गर्ने निर्णय गरेको थियो । भदौ २७ को मन्त्रिपरिषद बैठकको निर्णयअनुसार सरकारले उनीहरूको रिहाइका लागि अध्यादेश ल्याएको हो ।
मन्त्रिपरिषदको बैठकबाट राजनीतिक निर्णय गरी प्रशासनिक एवं अर्ध न्यायिक प्रकृतिका मुद्दालाई यथाशिघ्र फर्छ्यौट गर्न र कानुनसँग अन्तरविरोध राख्ने मुद्दाको हकमा कानुनी व्यवस्था वा कानुन संशोधन गरी मुद्दा खारेज गर्ने निर्णय गरेको थियो ।
सरकारले उनीहरूको रिहाइका लागि अन्तरविरोध राख्ने कानुनी प्रावधान संशोधन गर्न यो अध्यादेश ल्याएको हो । सरकारले टीकापुर घटनासम्बन्धी मुद्दाको खारेजी प्रक्रिया अगाडि बढाउन गृह मन्त्रालयलाई निर्देशनसमेत दिएको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


