नवनिर्वाचित सांसदलाई पशुपतिशम्शेर जबराले शपथ खुवाउने

काठमाडौं, २५ मंसिर । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता पशुपतिशम्शेर जबराले शपथ खुवाउने भएका छन् ।
प्रत्यक्ष निर्वाचित १६५ र दलहरुले समानुपातिक पद्धतिबाट निर्वाचित गर्न निर्वाचन आयोगका नाम बुझाएका ११० जनामध्ये ज्येष्ठ सदस्य उनै जबरा हुन् ।
यद्यपि, निर्वाचन आयोगले निर्वाचित सदस्यहरुको उमेर हेरेर ज्येष्ठ सदस्य तय गर्न बाँकी छ । सार्वजनिक विवरण अनुसार २७५ सदस्यमध्ये ज्येष्ठ सदस्यका रुपमा जबरा देखिएका हुन् । उनी ८१ वर्षका भए । जबराको जन्म वि. सं १९९८ वैशाख २५ गते (सन् ७ मे १९४१) काठमाडौंको महाराजगंजमा जन्मिएका थिए ।
निर्वाचन आयोगमा उम्मेदवारले पठाएको व्यक्तिगत विवरण अनुसार राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी पनि ८१ वर्ष पुगेका छन् । उनको जन्ममिति वि सं. १९९८ माघ २० गते रहेको आयोगको विवरणमा छ ।
आयोगमा रहेको व्यक्तिगत विवरण अनुसार सर्लाही–२ बाट निर्वाचित नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादवको उमेर ८५ वर्ष पुगिसकेको देखिन्छ । उनको जन्म मिति १९९४ वैशाख २४ देखिन्छ । तर उनले आफ्नो जन्ममितिमा त्रुटि रहेको भन्दै २०७४ सालकै प्रतिनिधिसभाको निर्वाचनपछि ज्येष्ठ सदस्यको हैसियतमा सांसदहरुलाई शपथ गराउन अस्वीकार गरेका थिए ।
त्यसपछि ज्येष्ठ सदस्यका रुपमा महन्थ ठाकुरले शपथ गराएका थिए । यसवर्ष पनि निर्वाचित ठाकुरको जन्म मिति भने वि सं १९९९ वैशाख २४ गते रहेको आयोगको विवरणमा छ ।
प्रत्यक्षका १६५ र समानुपातिकका ११० जना गरी २७५ सदस्यीय प्रतिनिधिसभा सदस्यको अन्तिम नामावली तय भएपछि निर्वाचन आयोगले निर्वाचन परिणाम सहितको प्रतिवेदन राष्ट्रपति कार्यालयमा बुझाउनुपर्ने हुन्छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


