काठमाडौं, २५ मंसिर । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहमा नयाँ जनप्रतिनिधिले कार्यभार सम्हालेसँगै यसले मुलुकमा जनउत्तरदायी लोकतान्त्रिक अभ्यासलाई थप सबलीकरण गरेको बताएका छन् ।

गाउँपालिका राष्ट्रिय महासङ्घको तेस्रो महाधिवेशनको उद्घाटन समारोहमा उनले अबको प्राथमिकता सङ्घीयता र लोकतन्त्रको आधारस्तम्भका रूपमा रहेको स्थानीय सरकारको सबलीकरण गरी नागरिकमा सुशासन र विकासको अनुभूति गराउने हुनुपर्नेमा जोड दिए ।

स्थानीय तहले संरचनात्मक सुधार, सुदृढ आन्तरिक नियन्त्रण प्रणाली, सेवा प्रणालीमा नवीन प्रविधिको प्रयोग, सम्पत्ति र दायित्वबीचको सन्तुलन, सेवाग्राही केन्द्रित योजना, विकेन्द्रीकरण, तालिम एवं अनुसन्धान तथा नयाँ बजारीकरण रणनीति जस्ता सुधारका विधि अवलम्बन गरी अगाडि बढेमा सुशासनलाई स्थानीय तहमा संस्थागत गर्न सहयोग पुग्ने उनको भनाइ थियो ।

उनले सेवा प्रवाहसम्बन्धी कानुन, कार्यविधि, मापदण्ड निर्माण गरी जारी गर्ने र सोहीबमोजिम नागरिक बडापत्र कार्यान्वयनमा ल्याउने, सेवाग्राही र सेवा प्रदायक निकायबीच सुमधुरसम्बन्ध विकास गरे संस्थागत सुशासनमा ठोस योगदान पुग्ने विश्वास व्यक्त गरे ।