समानुपातिक सांसदको सूची सच्याउन दलहरूलाई दुई दिनको समय

काठमाडौं, २५ मंसिर । दलहरूले समानुपातिक सांसदको सूची सच्याउन दुई दिनको समय पाएका छन् ।
निर्वाचन आयोगका अनुसार दलहरूले आज र भोलि समानुपातिक सिद्धान्त र क्लस्टरअनुसार नमिलेको नाम सच्याउन पाउने भएका हुन् ।
दलहरूले शनिबार सामानुपातिक तर्फको बन्दसूचीमा उल्लेख भएका नामावली निर्वाचन आयोगमा बुझाएका थिए । ती नामावली भित्रैबाट दलहरूले समानुपातिक सांसदको सूची बुझाउनुपर्छ । दलहरूले शनिबार बुझाएको नामावलीले आयोगले छानबिन गरेर प्रमाणित भएपछि मात्रै मान्यता पाउँछ ।
निर्वाचन आयोगले नामावलीमा आजैबाट छानबिन सुरु गरेको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार यदि क्लष्टर नमिलेको भए सच्याएर पुनः पेस गर्न दलहरूलाई पत्राचार गर्ने तयारी छ ।
दलहरूले यसअघि बुझाएको समानुपातिक उम्मेदवारको बन्दसूची भित्रैबाट नाम परे/नपरेको र महिला, अल्पसंख्यक तथा पिछडिएका वर्गको प्रतिनिधित्व भए/नभएको छानबिन गरिने निर्वाचन आयोगका सहायक निर्वाचन अधिकृत यज्ञप्रसाद भट्टराईले जानकारी दिए ।
उनका अनुसार समानुपातिक सिद्धान्त अनुसार भए/नभएको छानबिन गरी प्रमाणित गर्ने काम सकेर अन्तिम प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गरिने छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


