काठमाडौं, २५ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक सांसद सिफारिसमा असन्तुष्टि देखिएको छ ।

पार्टीको समानुपातिक सूचीको शीर्ष स्थानमा नामावली भएका नेताहरू नै सिफारिसमा नपरेपछि असन्तुष्टि देखिएको हो । सो पार्टीको समानुपातिकतर्फ खस आर्य कोटाबाट दोस्रो नम्बरमा रहेका गणेश कार्कीले पार्टी प्रवक्ता डा. मुकुल ढकालका कारण आफूहरू सिफारिसमा पर्न नसकेको शनिबार सामाजिक सञ्जालमा उल्लेख गरेका थिए ।

दलिततर्फको सिफारिसमा समेत असन्तुष्टि देखिएको छ । दलित कोटामा पनि महिलालाई पन्छाउँदै पुरुषलाई नै सिफारिस गरिएको छ ।रास्वपाको बन्दसूचीमा दलित समूहबाट महिलाको पहिलो नम्बरमा रहेकी कल्पना रोक्काले पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमै पार्टीले एकजना पनि दलित महिलालाई सिफारिस नगरेर दलित महिलामाथि अपमान गरेको बताएकी थिइन् ।

यद्यपि प्रवक्ता डा. ढकालले यसअघि निर्वाचन आयोगमा पठाएको बन्दसूची भन्दा दायाँबायाँ नगरी समानुपातिक सांसद सिफारिस गरेको दाबी गरेका छन् । प्रवक्ता डा. ढकालले समानुपातिक सांसद सिफारिसमा कुनै तलमाथि नभएकाले अनावश्यक विवादको अर्थ नरहेको प्रतिक्रिया दिएका हुन् ।

उनले पार्टीले प्राप्त गरेको सिट र क्लस्टरअुनसार नाम सिफारिस गर्दा कतिपय उम्मेदवार छुटे पनि सिफारिसप्रति असन्तुष्ट हुन जरुरी नरहेको बताए ।

प्रत्यक्षतर्फ ७ सिट जितेको रास्वपाले समानुपातिकमा १३ सिट पाएको छ ।