काठमाडौं, २४ मंसिर । नेकपा माओवादी केन्द्रका नेता शिवपूजन राय यादवकी पत्नी मीना यादव समानुपातिक सांसद बनेकी छन् ।

माओवादी केन्द्रले समानुपातिक पद्धतिबाट टुंगो लगाएको १४ समानुपातिक सांसदमा मधेशी क्लस्टरबाट मीना यादव प्रतिनिधिसभा सांसद चयन भएकी हुन् ।

यद्यपि शिवपूजनले सर्लाही–४ प्रतिनिधिसभा सदस्यमा छोरी मधुमालालाई स्वतन्त्र उम्मेदवार उठाएका थिए । यो क्षेत्रमा सत्तारुढ गठबन्धनको समर्थन कांग्रेसका नागेन्द्रकुमार यादवलाई थियो । तर, उनी कांग्रेस छाडेर स्वतन्त्र उम्मेदवारी दिएका अमरेशकुमार सिंहसँग पराजित भए ।

अमरेश २० हजार १७ मत ल्याएर विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार नागेन्द्रकुमार यादव १८ हजार २५३ मत पाएका छन् भने तेस्रो नम्बरमा मधुमालाले १४ हजार ६२२ मत पाएकी थिइन् ।

मधुमालाको उम्मेदवारीले अमरेशलाई जित निकाल्न सहज भएको थियो । गठबन्धनलाई शिवपूजनकै कारण पराजय ब्यहोर्नुपरेको आरोप छ । शिवपूजनका कान्छो छोरा राजाबाबु यादवले गत स्थानीय चुनावमा रामनगर गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए ।

२०६४ मा संविधानसभा सदस्य जितेका शिवपूजनमाथि रातो पासपोर्ट दुरुपयोगमा कारबाही भएपछि उनी आफैं चुनाव लड्नबाट वञ्चित भएका छन् ।

–अनलाइनखबर