काठमाडौं, २३ मंसिर । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले मुलुकमा संघीयताको औचित्य नभएको बताएका छन् ।

रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेश कार्यालयले शुक्रबार कपिलवस्तुमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले हालको नेता व्यवस्थापन संघीयताभन्दा जनताको समानुपातिक संघीयता आवश्यक भएको बताए ।

उनले प्रदेश र संघको निर्वाचनमा आएको मतपरिणामले दलहरूको औचित्यमाथि समेत प्रश्न उठेको भन्दै पछिल्लो समय राज्यको आर्थिक संकटले मुलुकको अवस्था निकै कमजोर भएको र राज्यले विशेष आर्थिक नीति नल्याए नेपाल श्रीलंकाभन्दा थप संकटमा पर्ने बताए ।

विप्लवले अब संघीयता देशले धान्न नसक्ने भएकाले विशेष आर्थिक नीतिको खाँचो औँल्याए । उनले ४ मंसिरको निर्वाचनको औचित्य पुष्टि नभएको पनि टिप्पणी गरे ।

महासचिव विप्लवले आफूहरूसँग तत्कालीन केपी ओली नेतृत्वको सरकारले गरेको तीनबुँदे सहमति अहिलेको सरकारले कार्यान्वयन नगरेको भन्दै रोष प्रकट गरेका छन् ।