काठमाडौं, २३ मंसिर । प्रधानमन्त्री शेरबहादुर देउवाले भ्रष्टाचारविरुद्धको अभियानमा राज्यका सबै संयन्त्र, अदालत, नागरिक समाज र सञ्चार क्षेत्रलगायतको प्रतिबद्धता र सक्रियता आवश्यक पर्ने बताएका छन् ।

भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा शुक्रबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

देउवाले भने, ‘भ्रष्टाचार नियन्त्रण राज्यको कुनै एउटा अङ्ग वा निकायको मात्र जिम्मेवारीको विषय होइन, न त यो राज्यको कुनै एउटा अङ्गको सक्रियताले मात्र जितिने लडाइँ हो ।’

उनले भ्रष्टाचारका बहुआयामिक स्वरूप, कारण र प्रभाव हुने भएकोले यसको नियन्त्रण दिनानुदिन चुनौतीपूर्ण बन्दै गइरहेको बताए ।

प्रधानमन्त्री देउवाले यसै वास्तविकतालाई मध्यनजर गरी भ्रष्टाचार नियन्त्रणको कार्यलाई सबैको समन्वयात्मक प्रयासमा अघि बढाई आमजनताको अपेक्षा अनुरूप सेवा प्रवाह गर्न जरुरी रहेको पनि बताए ।

भ्रष्टाचारविरुद्धको संयुक्त राष्ट्रसङ्घीय महासन्धि पारित भएको ९ डिसेम्बरका दिनलाई हरेक वर्ष विश्वभर नै विभिन्न कार्यक्रम आयोजना गरी भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइँदै आइएको छ ।