काठमाडौं, २१ मंसिर । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभातर्फको समानुपातिक सिट बाँडफाँट गरेको छ ।

मंसिर ४ मा सम्पन्न निर्वाचनको नतिजाअनुसार नेकपा एमालेले प्रतिनिधिसभातर्फ ३४ सिट र प्रदेशसभातर्फ ७० सिट पाएको छ ।एमालेको समानुपातिकमा कुल १०४ सिट पुगेको छ ।

एमालेले प्रदेश १ मा १५, मधेस प्रदेशमा ८, बागमतीमा १४, गण्डकीमा १०, लुम्बिनीमा ११, कर्णालीमा ५ र सुदूरपश्चिम प्रदेशमा ७ जना सांसद पाएको छ ।

दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले प्रतिनिधिसभामा ३२ र प्रदेशसभामा ६४ सिट पाएको छ । जसअनुसार प्रदेश १ मा १२, मधेस प्रदेशमा ९, बागमतीमा १२, गण्डकीमा ९, लुम्बिनीमा १०, कर्णालीमा ५ र सुदूरपश्चिम प्रदेशमा ७ जना सांसद पाएको छ ।

तेस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभामा १४ र प्रदेशसभामा २९ गरी कुल ४३ सिट पाएको छ । जसअनुसार प्रदेश १ मा ४, मधेस प्रदेशमा ४, बागमतीमा ७, गण्डकीमा ३, लुम्बिनीमा ४, कर्णालीमा ५ र सुदूरपश्चिम प्रदेशमा ३ जना सांसद पाएको छ ।

२४ सांसदसहित चौथो स्थानमा रहेको राप्रपाले प्रतिनिधिसभामा ७, प्रदेश १ मा ४, मधेस प्रदेशमा १, बागमतीमा ६, गण्डकीमा २, लुम्बिनीमा २, कर्णालीमा १ र सुदूरपश्चिम प्रदेशमा १ जना सांसद पाएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभामा मात्र १३ सिट पाएको छ । एकीकृत समाजवादीले प्रदेशसभामा सिट पाएको छैन भने प्रतिनिधिसभामा जम्मा ९ सांसद पाएको छ । नेमकिपाले प्रदेशसभा मात्रै २ सांसद पाएको छ । जनता समाजवादी पार्टीले प्रतिनिधिसभा ५ र प्रदेशसभामा ९ सांसद पाएको छ । जनमत पार्टीले प्रतिनिधिसभामा ५ र प्रदेशसभामा ९ सिट पाएको छ ।

लोसपाले ३, नेपाल संघीय समाजवादीले १, नागरिक उन्मुक्ति पार्टीले ५, राष्ट्रिय जनमोर्चाले १, हाम्रो नेपाली पार्टीले १ सिट पाएको निर्वाचन आयोगले जनाएको छ ।

प्रदेशसभामा दर्ता नै नभएको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभामा माओवादी केन्द्रले भन्दा १ सिट कम पाएको छ । माओवादी केन्द्रले १४ सिट पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीले १३ सिट पाएको हो ।