बुटवल, २० मंसिर । रुपन्देही निर्वाचन क्षेत्र नम्बर–२ मा पुनः मतदानको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेलले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका छन् ।

रुपन्देही–२ को निर्वाचन अधिकृतको कार्यालयले नेकपा एमालेका उम्मेदवार विष्णु पौडेललाई अनियमित रुपमा निर्वाचित भएको घोषणा गरेको आरोप लगाउँदै उक्त परिणाम बदर गरी पुनः मतदान तथा मतगणनाको माग गरी उनले रिट निवेदन दायर गरेका हुन् ।

पौडेल नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलसँग १ हजार ३६६ मतान्तरले पराजित भएका थिए । निर्वाचन परिणाम सार्वजनिक भएको ११ दिनपछि पौडेल सर्वोच्च गएका हुन् ।

उनले निर्वाचन अधिकृतको कार्यालय रुपन्देही क्षेत्र नं २, आयोगको केन्द्रीय कार्यालय र निर्वाचित सांसद विष्णु पौडेलसहित ८ निकायलाई विपक्षी बनाएका छन् ।

यता, निर्वाचन अधिकृत उद्वीर नेपालीले अनियमित तरिकाले मत परिणाम घोषणा गरिएको भन्ने आरोप निराधार भएको प्रतिक्रिया दिए ।