काठमाडौं, २० मंसिर । गत मंसिर ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनअन्तर्गत १६५ वटै निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ ।

निर्वाचन आयोगको तथ्यांकअनुसार प्रतिनिधिसभा निर्वाचनमा अधिकांश क्षेत्रमा चुनाव जित्नेमध्ये पुरुष उम्मेदवारको बाहुल्यता देखिएको छ ।

आमनिर्वाचन २०७९ मा १२ वटा राजनीतिक दल र स्वतन्त्र गरी १६५ जना विजयी भएका छन् । जसमा राजनीतिक दलबाट झण्डै ५ प्रतिशत अर्थात् ९ जना मात्रै महिला उम्मेदवार निर्वाचित भएका छन् ।

झण्डै ९५ अर्थात् प्रतिशत १५६ जना पुरुष उम्मेदवारले चुनाव जितेका छन् । महिलाको उम्मेदवारी दिने क्रममै कमजोर स्थिति रहेकोमा निर्वाचित संख्या न्यून बनेको हो ।

नेपाली कांग्रेसले प्रतिनिधिसभातर्फ ५७ सिट जित्दा प्रत्यक्षमा एकजना मात्र महिला निर्वाचित भएकी छन् । युवा नेतृ सीता गुरुङले तेह्रथुमबाट जित हासिल गरेकी हुन् ।

यस्तै ४४ सिटसहित दोस्रो दल बनेको नेकपा एमालेबाट ४ जना मात्र महिला उम्मेदवार विजयी भएका छन् । एमालेबाट चुनाव जित्नेमा विद्या भट्टराई, ज्वालाकुमारी साह, जुलीकुमारी महतो र भगवती चौधरी छन् ।

१८ सिट जितेको नेकपा माओवादी केन्द्रबाट एकजना मात्र महिला उम्मेदवार विजयी भएका छन् । माओवादीबाट रेखा शर्मा निर्वाचित भएकी छन् ।

सबैभन्दा कान्छो दल राष्ट्रिय स्वतन्त्र पार्टीबाट दुईजना महिला उम्मेदवार निर्वाचित भएका छन् । कूल सात सिट जितेको रास्वपाका काठमाडौं २ बाट सविता गौतम र ललितपुर ३ बाट तोसिमा कार्की निर्वाचित भएका हुन् ।

३ सिट जितेको नागरिक उन्मुक्ति पार्टीबाट रञ्जिता श्रेष्ठ चौधरीले चुनाव जितेकी छन् ।

प्रत्यक्षमा कम महिला उम्मेदवार विजयी भए पनि संविधानतः हरेक दलबाट संसदमा ३३ प्रतिशत महिला सहभागिता अनिवार्य छ ।त्यसकारण समानुपातिकमा दलहरूले महिलाको प्रतिशत पु¥याउन सिफारिस गर्नेछन् ।