काठमाडौं, २० मंसिर । कपिलवस्तुका जिल्ला न्यायाधीश भुवन गिरीमाथि एक महिलालाई बन्धक बनाएर यौन शोषण गरेको आरोपमा अनुसन्धान सुरु भएको छ ।

पीडितले आफूलाई बन्धक बनाएर यौन शोषण गरेको आरोपमा उजुरी दिएपछि जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले अनुसन्धान थालेको हो ।

पीडित महिलाले न्यायाधीश गिरीविरुद्ध सुरुमा कपिलवस्तु प्रहरीमा उजुरी गरेकी थिइन् । तर, कपिलवस्तु प्रहरीले उजुरी लिन नमानेपछि पीडित महिला एक साताअघि राष्ट्रिय मानव अधिकार अयोग र महिला आयोगमा पुगेर उजुरी दिइन् ।

दुवै आयोगले कपिलवस्तु प्रहरीलाई उजुरी लिएर छानबिन गर्न निर्देशन दिँदै पत्र पठाएका थिए । मानव अधिकार आयोगले त न्यायपरिषदलाई समेत उजुरी र पत्रको बोद्धार्थ पठाएको थियो ।

मानव अधिकार आयोगका अनुसार, उजुरीमा न्यायाधीश गिरीमाथि पीडित महिलालाई करिब ५ वर्षदेखि बन्धक बनाएर यौन शोषण गरिरहेको आरोप छ । राष्ट्रिय मानवअधिकार आयोगकी सदस्य लिली थापाले पीडितले आयोगमा आएर पटकपटक करणी गरेर गर्भपतन गर्न लगाएको पनि खुलाएकी छन् ।

महिला आयोगका अनुसार, पीडित महिला ०७५ देखि नै न्यायाधीशसंग थिइन् ।

आयोग स्रोत भन्छ, ‘हामीले न्यायाधीशलाई पनि सम्पर्क गरेर यस विषयमा बुझेका थियौं ।’ महिला आयोगका एक पदाधिकारीका अनुसार, पीडितलाई मनोवैज्ञानिक परामर्श दिने काम समेत भइरहेको छ ।

राष्ट्रिय मानव अधिकार आयोग, न्यायपरिषद सचिवालय र राष्ट्रिय महिला आयोगले समेत सोधपुछ र अनुसन्धान थालेपछि न्यायाधीश गिरी १५ दिने बिदा बसेका छन् ।

जिल्ला प्रहरी कार्यालय, कपिलवस्तुका प्रमुख एसपी प्रेमबहादुर बस्नेतले मानव अधिकार आयोगको पत्राचारका आधारमा छानबिन भइरहेको बताए ।

स्रोतका अनुसार, प्रहरीले न्यायपरिषदसँगको समन्वयमा छानबिन अघि बढाएको छ । पक्राउ गर्नैपर्ने भए न्यायपरिषदको अनुमति पाएपछि मात्रै प्रक्रिया अघि बढाउने प्रहरीको तयारी छ ।

उजुरी परेपछि न्यायपरिषदले समेत छानबिनका लागि एकजना सदस्यलाई जिम्मेवारी दिइसकेको स्रोतले बतायो । स्रोतका अनुसार, ती सदस्यले मंगलबारदेखि नै सोधपुछ लगायतका काम थालेका छन् ।

न्यायपरिषद सचिवालयका प्रवक्ता मानबहादुर कार्कीले भने उजुरीका बारेमा आफूलाई जानकारी नभएको प्रतिक्रिया दिए । आफूमाथि छानबिन सुरु भएपछि न्यायाधीश गिरीले उच्च अदालत तुलसीपुरको बुटबल इजलासबाट १५ दिन विदा लिएका छन् ।