काठमाडौं, १९ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको साधारण सदस्यता बदर गर्न माग गर्दै निर्वाचन आयोगमा निवेदन परेको छ । समाजवादी केन्द्र नेपालका सर्वोच्च नेता युवराज पौडेल ‘सफल’ले सो निवेदन दर्ता गराएका हुन् ।

सोमबार आयोगमा निवेदन दिँदै सफलले नेपाली नागरिकता नै नभएका कुनै पनि व्यक्तिले राजनीतिक दल खोल्न र सो दलको साधारण सदस्य हुन, अध्यक्ष वा सभापति हुन समेत नसक्ने कानूनी व्यवस्थाविपरीत लामिछानेको नेतृत्वमा रास्वपा दर्ता भएको उल्लेख दाबी गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी नामक दल दर्ता भएकोमा आफ्नो कुनै आपत्ति नरहेको समेत उनले प्रस्ट पारेका छन् ।

सफलले संविधानको धारा १७ (क) उधृत गर्दै भनेका छन्,‘तर नेपाली नागरिकता नै नभएका रबि लामिछानेलाई उक्त दलको सभापतिको मान्यता दिन एवम् सो दलको साधारण सदस्यता समेतको मान्यता दिन नमिल्ने भएको हुँदा निजको सभापतित्व र साधारण सदस्यता निर्वाचन आयोगले खारेज गर्न वा सो गर्न गराउन राष्ट्रिय स्वतन्त्र पार्टीलाई निर्देशन दिई निज रबि लामिछानेको उक्त दलको सभापति पद र साधारण सदस्यता तत्कालै खारेज गरी पाउन म श्रीमान समक्ष निम्न बुंँदामा निबेदन गर्दछु ।’