जनकपुरधाम, १८ मंसिर । मधेस प्रदेशमा मधेस केन्द्रीत दलहरुमध्ये जनमत पार्टी सबैभन्दा बढी लोकप्रिय पार्टीको रुपमा स्थापित भएको छ ।

निर्वाचन आयोगले समानुपातिकतर्फको सार्वजनिक गरेको हालसम्मको मतपरिणाम अनुसार जनमत पार्टीले मधेस प्रदेशमा तेस्रो स्थान ल्याएको छ ।

पहिलो स्थानमा नेपाली काँग्रेसले ४ लाख १४४ मत ल्याएको छ भने दोस्रो स्थानमा रहेको नेकपा एमालेले ३ लाख ५१ हजार ७६८ मत ल्याएको छ ।

त्यसपछि जनमत पार्टीले ३ लाख २९ हजार १७७ मत ल्याएको छ । जसपा नेपालले २ लाख ९८ हजार ७७४ मत मात्र पाएको छ ।जसपाभन्दा जनमतले ३० हजार ४०३ मत बढी ल्याएको छ ।

यसअघिको चुनावमा मधेसमा लोकप्रिय रहेको जसपा र लोसपाले सो लोकप्रियता यसपटक गुमाएको छ । लोकतान्त्रिक समाजवादी पार्टीले भने १ लाख १३ हजार ३६४ मत मात्र ल्याएको छ ।