काठमाडौं, १७ मंसिर । मंसिर ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनको मतपरिणम करिब करिब अन्तिमतिर आइपुगेको छ । मतपरिणामअनुसार प्रत्यक्षतर्फ कांग्रेस पहिलो दल बनेको छ भने समानुपातिकतर्फ एमाले पहिलो दल बन्ने पक्का भएको छ ।

समानुपातिक प्रणालीतर्फ हालसम्म १ करोड ४ लाख ४ हजार ७६६ मतगणना भइसकेको छ । जसमध्ये एमालेले २७ लाख ८३ हजार ३८७ मत प्राप्त गरेको छ भने कांग्रेसले २६ लाख ५२ हजार ६२८ मत प्राप्त गरेको छ ।

यस्तै नेकपा माओवादी केन्द्रले ११ लाख ६१ हजार ८८०, राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख २३ हजार ७८, राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ८६ हजार २५९, जनता समाजवादी पार्टी नेपालले ४ लाख २० हजार ९४३ र जनमत पार्टीले ३ लाख ९४ हजार ३८५ मत प्राप्त गरेका छन् ।

त्यस्तै, नेकपा एकीकृत समाजवादीले २ लाख ९४ हजार १ सय, नागरिक उन्मुक्ति पार्टीले २ लाख ७१ हजार ६५८, लोकतान्त्रिक समाजवादी पार्टीले १ लाख ६७ हजार २८०, नेपाल मजदुर किसान पार्टीले ७५ हजार ५० र हाम्रो नेपाली पार्टीले ५५ हजार ६०९ मत प्राप्त गरेका छन् ।

प्रतिनिधिसभामा प्रत्यक्षतर्फका १६५ क्षेत्रमध्ये १६२ क्षेत्रको परिणाम सार्वजनिक भइसकेको छ । स्याङ्जा २, दोलखा र बाजुराको परिणाम आउन बाँकी रहेको छ ।

पछिल्लो मतपरिणामअनुसार प्रतिनिधिसभातर्फ कांग्रेस ५५ स्थानमा, एमालेले ४४ स्थानमा, माओवादी केन्द्र १७, एकीकृत समाजवादी १०, जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले समान ७ स्थानमा जित हासिल गरेका छन् ।

स्वतन्त्र ५, लोकतान्त्रिक समाजवादीको ४, नागरिक उन्मुक्ति पार्टी ३, नेपाल मजदुर किसान पार्टी, जनमत पार्टी र राष्ट्रिय जनमोर्चा समान एक स्थानमा विजयी भएका छन् ।