–वरुणा कर्ण

काठमाडौं, १५ मंसिर । जनमत पार्टीका अध्यक्ष डाक्टर सिके राउतले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् ।

राउतले बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा देउवासहित कांग्रेस उपसभापति पूर्णबहादुर खड्का र अर्का नेता विमलेन्द्र निधिसँगसमेत भेटवार्ता गरेका हुन् ।

भेटमा प्रधानमन्त्री देउवाले राउतलाई सरकारमा सहभागी हुन प्रस्ताव गरेका थिए । देउवाको प्रस्तावमा राउतले सरकारमा जान आफू सकारात्मक रहेको बताएको स्रोतले जनाएको छ ।

उनीहरूबीच संघ र प्रदेशमा समेत सहकार्य गरेर अघि बढ्ने विषयमा छलफल भएको थियो । राउतले सरकारमा जान आफूले विकल्प खुला राखेको बताएका थिए ।

राउतले सप्तरी–२ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई पराजित गरेका थिए । समानुपातिकमा थ्रेस होल्ड कटाएपछि उनको पार्टीले प्रत्यक्ष र समानुपातिक गरी कम्तीमा ५ सिट पाउनेछ ।

राउतले यसअघि बुधबार कांग्रेस नेता विमलेन्द्र निधिसँग भेटवार्ता गरेका थिए । बुधबार निधिकै पहलमा राउत र प्रधानमन्त्रीबीच भेटवार्ता भएको हो ।