जनकपुरधाम, १४ मंसिर । प्रतिनिधिसभा र प्रदेशसभाको मंसिर ४ गते सम्पन्न निर्वाचनअन्तर्गत समानुपातिकतर्फ मधेस प्रदेशमा अहिलेसम्म कुल २० लाख १९ हजार ७४५ मतगणना गरिएको छ ।

आयोगका अनुसार हालसम्म गणना गरिएको मतअनुसार मधेस प्रदेशमा नेपाली कांग्रेसले ३ लाख ८६ हजार २९३ मत प्राप्त गर्दा नेकपा एमालेले ३ लाख ४३ हजार ७२८ र जनमत पार्टीले ३ लाख ७ हजार ५३० मत प्राप्त गरेको छ ।

त्यस्तै, जनता समाजवादी पार्टी नेपालले २ लाख ८७ हजार ८४६, नेकपा माओवादी केन्द्रले १ लाख ७८ हजार ९३६ र नेकपा एकीकृत समाजवादी पार्टीले १ लाख १२ हजार २६४ मत प्राप्त गरेका छन् ।

आयोगको विवरणअनुसार लोकतान्त्रिक समाजवादी पार्टीले १ लाख १० हजार ८५२, राष्ट्रिय प्रजातन्त्र पार्टीले ६४ हजार २०८, नेपाल संघीय समाजवादी पार्टीले ४९ हजार ९९३, नागरिक उन्मुक्ति पार्टीले ४६ हजार ९७९ र बहुजन एकता पार्टीले २० हजार २०६ मत प्राप्त गरेका छन् ।

समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत मधेस प्रदेशमा कूल ३६ दल निर्वाचन प्रक्रियामा भाग लिएका थिए । त्यसमध्ये सबैभन्दा अन्तिममा रहेको बहुजन समाज पार्टीले ५३९ मत प्राप्त गरेको छ ।

आयोगले अन्य प्रदेशको पनि समानुपातिकतर्फको मतगणना जारी राखेको छ । प्रदेश नम्बर–१ मा १८ लाख २ हजार ९०७ मतगणना भइसकेको छ ।

वागमती प्रदेशमा १८ लाख २८ हजार ४५८, गण्डकी प्रदेशमा ९ लाख १८ हजार ८३९, लुम्बिनी प्रदेशमा १८ लाख ८७ हजार ७८, कर्णाली प्रदेशमा ५ लाख ७७ हजार ८२९ र सुदूरपश्चिम प्रदेशमा ८ लाख ३८ हजार ८८४ मतगणना भइसकेको छ ।