काठमाडौं, १२ मंसिर । प्रतिनिधिसभा र प्रदेशसभाको मंसिर ४ गते सम्पन्न निर्वाचनअन्तर्गत समानुपातिकतर्फ अहिलेसम्म कुल ९३ लाख २६ हजार १५७ मतगणना गरिएको छ ।

समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत राजनीतिक दलको चुनाव चिन्हमा मतदान गरिने हुनाले दलको लोकप्रियता निर्धारण हुन्छ ।निर्वाचन आयोगका अनुसार हालसम्म गणना गरिएको मतअनुसार नेकपा एमालेले २५ लाख ३७ हजार ९१२ मत प्राप्त गरेको छ ।

नेपाली कांग्रेसले २४ लाख २ हजार ६७८, नेकपा माओवादी केन्द्रले १० लाख ६७ हजार ८६५, राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ६४ हजार १३९ मत प्राप्त गरेको छ । त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ४५ हजार ७३१, जनता समाजवादी पार्टीले ३ लाख २९ हजार ९३६ मत प्राप्त गरी थ्रेसहोल्ड कटाएका छन् ।

थ्रेस होल्ड कटाउनका लागि संघर्षरत दलमा नेकपा एकीकृत समाजवादी र जनमत पार्टी छन् । आयोगको विवरणअनुसार जनमत पार्टीले २ लाख ६५ हजार ७६८ मत प्राप्त गरेको छ भने एकीकृत समाजवादीले २ लाख ५३ हजार ३२९ मत प्राप्त गरेको छ । बाँकी रहेको मतगणनामा ती दलले थ्रेसहोल्ड कटाउने अपेक्षा राखेका छन् ।

आयोगका अनुसार नागरिक उन्मुक्ति पार्टीले २ लाख ३७ हजार ९६२, लोकतान्त्रिक समाजवादी पार्टीले १ लाख २७ हजार ९४०, नेपाल मजदुर किसान पार्टीले ७२ हजार ८१९, हाम्रो नेपाली पार्टीले ५२ हजार ८५५ मत, मंगोल नेशनल अर्गनाइजेशनले ४५ हजार ६९९, राष्ट्रिय जनमोर्चाले ४४ हजार ८८४, नेपाल सङ्घीय समाजवादी पार्टीले ३१ हजार २५८, नेकपा (माले) ले २७ हजार १६४ र राष्ट्रिय जनमुक्ति पार्टीले २२ हजार ७२४ मत प्राप्त गरेका छन् ।

समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत कूल ४७ दलले निर्वाचन प्रक्रियामा भाग लिएका थिए । त्यसमध्ये सबैभन्दा अन्तिममा रहेको नेश्नलिष्ट पिपल्स पार्टीले १ हजार ६९८ मत प्राप्त गरेको छ ।

त्यस्तै आयोगले प्रदेशतर्फको पनि समानुपातिकतर्फको मतगणना जारी राखेको छ । प्रदेश नम्बर–१ मा १६ लाख ५४ हजार २८५ मतगणना भइसकेको छ ।

मधेस प्रदेशमा १७ लाख ३६ हजार ४०५, वागमती प्रदेशमा १६ लाख १२ हजार ४९४,, गण्डकी प्रदेशमा ९ लाख १८ हजार ८३९, लुम्बिनी प्रदेशमा १८ लाख ५९ हजार ६२, कर्णाली प्रदेशमा ५ लाख ७७ हजार ८२९ र सुदूरपश्चिम प्रदेशमा ८ लाख ७ हजार १३८ मतगणना भइसकेको छ ।