काठमाडौं, ११ मंसिर । मंसिर ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ हालसम्म करिब ८० प्रतिशत मतगणना सम्पन्न भएको छ ।

सम्पन्न भएको मतगणनाको विवरण निर्वाचन आयोगको सूचना प्रणाली र समानुपातिक प्रणालीको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा अभिलेख हुने क्रम जारी रहेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।

निर्वाचनका लागि कूल मतदाता १ करोड ७९ लाख ८ हजार ८५० रहेकामा प्रारम्भिक विवरणमा ६१ प्रतिशत मत खसेको अनुमान गरिएकामा सोको ८० प्रतिशत मतगणना हुँदा अब करिब २४ लाख मत उक्त प्रणालीतर्फ गणना हुन बाँकी छ ।

प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १६५ स्थानमध्ये हालसम्म १४४ क्षेत्रको मतपरिणाम आयोगको प्रणालीमा प्रविष्ट भइसकेको छ । हाल गणना भइरहेका ६ निर्वाचन क्षेत्रको सोमबारसम्ममा सम्पन्न हुने आकलन गरिएको छ ।

बाजुराको बूढीनन्दा नगरपालिका–५ स्थित नन्देश्वरी मावि, पिपलचौर मतदान केन्द्रमा मंसिर १० गते पुनः मतदान सम्पन्न भएकाले गणना हुन बाँकी छ ।

दोलखा र स्याङ्जा सत्तापक्ष तथा प्रतिपक्षबीच विवादका कारण मतपेटिका सङ्कलन भइसके पनि मतदानस्थलमा पुनः मतदान गराउने या मतगणना सुरू गर्ने भन्ने विषयमा आयोगको निर्णयको प्रतीक्षा गरिएको छ ।