काठमाडौं, ११ मंसिर । सुनसरी क्षेत्र नम्बर–४ मा नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीले पुनः मतगणनाको माग गरेका छन् ।

शनिबार दिउँसोदेखि रोकिएको मतगणना आइतबार सर्वदलीय बैठक आयोजना गरेर सुरु गर्ने भनिए पनि सर्वदलीय बैठकमा कुनै सहमति जुट्न नसकेपछि पुनः मत गणनाको माग गर्दै कार्कीले आइतबार निर्वाचन आयोगमा निवेदन दिएका हुन् ।

सुनसरी–४ मा मतगणनाका क्रममा गणनामा बसेका निर्वाचन आयोगकका कर्मचारीले नेकपा एमालेका उम्मेदवार जगदीशप्रसाद कुसियैतको मतमा ६०६ मत बढी थपिएपछि विवाद भएको थियो । निर्वाचन अधिकृतले आयोगमा पठाएको ६०६ मत सार्वजनिक गर्दा एक हजार दुई सय १२ मत भएपछि कांग्रेसले आपत्ति जनाएको थियो ।

यसरी थप देखिएको ६०६ मतमा आफूले गल्ती गरेको भन्दै आयोगले त्यो मत हटाउने र गणना सुरु गर्ने प्रस्ताव गरेको थियो । कांग्रेसका कार्कीले त्यो प्रस्ताव अस्वीकार गर्दै सुरुदेखि नै मतगणना गर्नुपर्ने माग गरेका छन् ।

मतगणना रोकिँदासम्म कार्कीले २३ हजार ४३९ र एमालेका कुसियैतले २३ हजार ३४१ मत पाएका छन् ।