जनकपुरधाम, १० मंसिर । प्रतिनिधिसभातर्फ धनुषाको निर्वाचन क्षेत्र नम्बर–२ बाट नेकपा एमालेका उम्मेदवार उमाशंकर अरगरियाले पुनः मतगणनाको माग गर्दै शनिबार जनकपुरधाममा विरोध प्रदर्शन गरेका छन् ।

अरगरियाले निर्वाचन अधिकृत धर्म अवतार कोइरालाले मतगणनामा धाँधली गरेको भन्दै उनलाई कारबाहीको माग गर्दै प्रदर्शन गरेका हुन् ।

प्रदर्शनका क्रममा अरगरियाका समर्थकहरूले अधिकृत कोइरालालाई कारबाही गर, अर्को बाकसमा खसेको सदर मत गणना गर, आयोगको निर्देशिका बमोजिम मत गणना गर, षड्यन्त्रकारी प्रहरी प्रशासन मुर्दावाद जस्ता नारा लगाएका थिए ।

उम्मेदवार अरगरियाले प्रदेशसभाको बाकसमा खसेको करिब ४ सय सदर मत गणना नगरी परिणाम घोषणा गरेर आफूलाई षड्यन्त्रपूर्वक पराजित गरिएको आरोप लगाए । जनताको मतले आफू निर्वाचन भएको बताउँदै उनले सर्टिफिकेट दिँदैमा कोही सांसद नहुने जिकिर गरे ।

अरगरियाले प्रदेशसभाको मतपेटिकामा खसेको प्रतिनिधिसभाको सदर मतपत्र गणना नगरेकोप्रति आपत्ति जनाउँदै पुनः मतगणनाको माग गरेका हुन् ।

प्रदेशसभा तर्फको मतपेटिकामा प्रतिनिधिसभाको मतपत्र भेटिन थालेपछि तत्कालै निवेदन दिन खोजेको थिए’, उनले भने, ’तर मुख्य निर्वाचन अधिकृत कोइरालाले निवेदन नै लिन मान्नु भएन । उहाँले पछि त्यो मत पनि गणना गर्ने आश्वासन दिनुभएको थियो । तर त्यो मतलाई बदर गरी परिणाम घोषणा गर्नुभयो ।’

अरगरियाले निर्वाचन आयोगको निर्देशिका बमोजिम सदर मत गणना गर्नुपर्ने माग गरेका हुन् ।