जनकपुरधाम, १० मंसिर । गत निर्वाचनमा धनुषाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका लोसपाका बरिष्ठ नेता राजेन्द्र महतो यसपालि आफ्नै गृहजिल्लामा पराजित भएका छन् ।

२०७४ को निर्वाचनमा महतो धनुषा–३ बाट चुनाव लड्दा आफ्ना निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका विमलेन्द्र निधिभन्दा ३ हजार २२ बढी मत ल्याएका थिए । महतोले २७ हजार ४९९ मत प्राप्त गर्दा निधिले मात्र २४ हजार ४७७ मत प्राप्त गरेका थिए ।

तर, यसपालि बरिष्ठ नेता महतो आफ्नै गृहजिल्ला सर्लाही–२ बाट चुनाव लड्दा नेपाल समाजवादी पार्टीका उम्मेदवार महेन्द्र राय यादवसँग पराजित भएका छन् । यादवले २२ हजार ६३१ मत प्राप्त गर्दा महतोले २० हजार १६५ मत मात्र प्राप्त गरेका छन् ।

सर्लाही–२ मा ७२ हजार ३३ मत खसेको थियो । मतगणनाको क्रममा त्यहाँ ३ हजार ७९७ मत बदर भएको थियो ।

यादव नेकपा माओवादी केन्द्रको चुनाव चिह्न लिएर उठेका थिए ।