पुनः मतगणना गर्नुपर्ने एमालेका उम्मेदवार अरगरियाको माग

जनकपुरधाम, ९ मंसिर । प्रतिनिधिसभातर्फ धनुषाको निर्वाचन क्षेत्र नम्बर-२ बाट नेकपा एमालेका उम्मेदवार उमाशंकर अरगरियाले पुनः मतगणनाको माग गरेका छन् ।
शुक्रबार जनकपुरधाममा पत्रकार सम्मेलनको आयोजना गरी अरगरियाले प्रदेशसभाको मतपेटिकामा खसेको प्रतिनिधिसभाको सदर मतपत्र गणना नगरेकोप्रति आपत्ति जनाउँदै पुनः मतगणनाको माग गरेका हुन् ।
उनले निर्वाचन अधिकृत धर्म अवतार कोइरालाले मतगणनामा धांधली गरेको आरोप लगाएका हुन् ।
प्रदेशसभा तर्फको मतपेटिकामा प्रतिनिधिसभाको मतपत्र भेटिन थालेपछि तत्कालै निवेदन दिन खोजेको थिए’, उनले भने, ’तर मुख्य निर्वाचन अधिकृत कोइरालाले निवेदन नै लिन मान्नु भएन । उहांले पछि त्यो मत पनि गणना गर्ने आश्वासन दिनुभएको थियो । तर त्यो मतलाई बदर गरी परिणाम घोषणा गर्नुभयो ।’ अरगरियाले निर्वाचन आयोगको निर्देशिका बमोजिम सदर मत गणना गर्नुपर्ने माग गरेका हुन् ।
उनले मुख्य निर्वाचन अधिकृत कोइरालाले जानकारी बिना अर्को ठाउँमा पनि मतगणना सुरु गरेको र आधा घण्टामै १६ वटा वडाको मतगणना सकाएकोमा आपत्ति जनाए ।
उनले भने, ‘५ सय मतले आफू अगाडी रहेकै बेला कांग्रेस कार्यकर्ताहरू कांग्रेसका उम्मेदवार रामकृष्ण यादव विजयी भएको भन्दै खुशियाली मनाउँदै डिजे बजाउन थालेका थिए ।
मतगणनामा धांधली गरेका मुख्य निर्वाचन अधिकृत कोइरालालाई कारबाही गर्नुपर्ने र प्रदेशसभा तर्फको बाकसमा खसेको प्रतिनिधीसभाको सदर करिब ४ सय मतपत्र पुनः गणना गर्नुपर्ने माग गरेका छन् । उनले सदर मतपत्र गणना नगरे आफूहरू आन्दोलनमा उत्रनुका साथै कानूनी लडाई लड्ने चेतावनी दिए ।
निर्वाचन अधिकृतको कार्यालयले घोषणा गरेको परिणाम अनुसार धनुषा-२ मा अरगरियाले १९ हजार ९९५ र कांग्रेसका रामकृष्ण यादवले २० हजार ११२ मत प्राप्त गरे ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


