जनकपुरधाम, ९ मंसिर । महोत्तरीको निर्वाचन क्षेत्र नम्बर–३ बाट लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर विजयी भएका छन् ।

लोसपा अध्यक्ष ठाकुरले आफ्ना निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी नेपालका उम्मेदवार हरि नारायण यादवलाई २ हजार ५० मतको अन्तरले पराजित गरेका हुन् ।

अध्यक्ष ठाकुर १६ हजार ३७५ मत ल्याएर निर्वाचित हुँदा यादवले १४ हजार ३२५ मत पाएका छन् ।

त्यस्तै, स्वतन्त्र उम्मेदवार रामआधार कापरले १२ हजार ७३३ मत ल्याउँदा नेपाल संघीय समाजवादी पार्टीका उम्मेदवार इलियास अन्सारीले ४ हजार ९४९ मत पाएका छन् ।

तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष बृषेश चन्द्र लालले सो क्षेत्रबाट आफ्नो जमानतसमेत जोगाउन सकेनन् । अध्यक्ष लाल १ हजार ८३ मतसहित छैटौँ नम्बरमा सीमित भए ।