रौतहट, ८ मंसिर । रौतहट क्षेत्र नम्बर–३ बाट प्रतिनिधिसभा सदस्य पदमा स्वतन्त्र उम्मेदवार प्रभु साह निर्वाचित भएका छन् ।

नेकपा एमालेको टिकट त्यागेर स्वतन्त्र उम्मेदवारी दिएका साहले ३२ हजार ४३७ मत ल्याएर चौथो पटक प्रतिनिधिसभामा निर्वाचित भएका हुन् ।

साहका निकटतम प्रतिस्पर्धि अर्का स्वतन्त्र उम्मेदवार ओमप्रकाशले २५ हजार २०० मत पाएका छन् ।

त्यस्तै, नेकपा माओवादी केन्द्रका रवीन्द्र पटेलले ८ हजार ५५८ मत पाउँदा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार नागेन्द्र चौधरीले १ हजार ७२३ मत पाएका हुन् ।

को हुन् प्रभु साह?

२०२८ साल असोज १३ गते रौतहटको मौलापुरमा जन्मेका साह नेकपा माओवादी केन्द्रबाट राजनीति सुरु गर्दै नेपाल कम्युनिष्ट पार्टी खारेज भए पछि नेकपा एमाले ओली पक्ष तिर लागेका थिए ।

साहले रौतहट क्षेत्र नम्बर–३ बाट २०६४ र २०७० सालको संविधानसभा निर्वाचनमा निर्वाचित भएका थिए । उनी ओली नेतृत्वको सरकारमा शहरी विकास मन्त्री थिए । २०६४ सालको संविधानसभा निर्वाचनमा उनी ११ हजार ६२५ मत ल्याएर रौतहट–३ बाटै निर्वाचित भए । त्यसपछि २०७० को संविधानसभा निर्वाचनमा पनि उनी १३ हजार ९ मत ल्याएर रौतहट–३ बाट फेरि निर्वाचित भए ।

प्रतिनिधिसभा निर्वाचन २०७४ मा पनि उनी आफ्नै गाउँबाट प्रतिनिधिसभा सदस्यको रूपमा निर्वाचित भए । साह २०६८ मा झलनाथ खनाल क्याबिनेट अन्तर्गत कानून र संवैधानिक मामिला मन्त्री पनि थिए । २०७४ मा शेरबहादुर देउवा मन्त्रिपरिषद् अन्तर्गत शहरी विकास मन्त्री र भूमि व्यवस्था, सहकारी र गरीबी निवारण मन्त्री पनि बनेका थिए ।