जनकपुरधाम, ८ मंसिर । धनुषाका चार निर्वाचन क्षेत्रमध्ये क्षेत्र नम्बर–१ मा जसपा, २ र ३ मा एमाले तथा क्षेत्र नम्बर–४ मा कांग्रेसका उम्मेदवारले अग्रता बढाएका छन् ।

धनुषाको क्षेत्र नम्बर–१ को पछिल्लो मतपरिणामअनुसार जनता समाजवादी पार्टी नेपालका उम्मेदवार दीपक कार्कीले अग्रता कायमै राखेका छन् ।

कार्कीले ८ हजार ७८९ मत प्राप्त गर्दा नेकपा माओवादी केन्द्रका मातृका प्रसाद यादवले ६ हजार ५७९ मत ल्याएर दोस्रो स्थानमा पुगेका छन् ।

त्यस्तै, जनमत पार्टीका किशोरी साह कमलले ४ हजार १७१ मत पाएका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार मनोज मल्ल ठकुरीले ३ हजार ७०६ मत ल्याएका छन् ।

धनुषा–२ मा भने पछिल्लो मतपरिणामअनुसार एमालेका उम्मेदवार उमाशंकर अरगरियाले १३ हजार ९३५ मत प्राप्त गरि अग्रता बढाएका छन्  भने नेपाली कांग्रेसका उम्मेदवार रामकृष्ण यादव १३ हजार ३०३ मत ल्याएर दोस्रो स्थानमा झरेका छन् । त्यस्तै, नेकपा एकीकृत समाजवादीका उम्मेदवार रामचन्द्र झा ११ हजार १६२ मत ल्याएर तेस्रो स्थानमा पुगेका छन् ।

त्यस्तै, जनता समाजवादी पार्टी नेपालका उम्मेदवार गंगाराम यादव ७ हजार ९४१ मत ल्याएर तेस्रो स्थानमा छन् भने जनमत पार्टीका उम्मेदवार जयनारायण साहले ७ हजार ३२९ मत ल्याएका छन् ।

धनुषा–३ मा पनि नेकपा एमालेकी उम्मेदवार जुलीकुमारी महतोले २४ हजार ७६२ मतसहित अग्रता कायम गरेकी छन् भने पाँचदलीय गठबन्धनबाट लोसपाका अनिल झाले १८ हजार ५६० मत ल्याएर दोस्रो स्थानमा रहेका छन् ।

धनुषा–४ मा नेपाली कांग्रेसका सह–महामन्त्री महेन्द्र यादव ९ हजार ७६६ मत प्राप्त गरि अग्रता बढाएका छन् भने नेकपा एमालेका सचिव रघुवीर महासेठ ९ हजार ७२६ मतसहित दोस्रो स्थानमा झरेका छन् ।

प्रदेशसभामा कसको के छ अवस्था?

प्रदेशसभातर्फ धनुषा क्षेत्र नम्बर–१ (क) को पछिल्लो मतपरिणामअनुसार नेपाली कांग्रेसका संजय कुमार महतो ६ हजार ३५५ मत प्राप्त गरेर अग्रता कायम गरेका छन् भने जसपाका सुकेश्वर यादवले ५ हजार ८२० मत प्राप्त गरेर उनलाई पछ्याइरहेका छन् । त्यस्तै, जनमत पार्टीका ब्रम्हदेव महतोले ४ हजार ५५८ मत पाएका छन् ।

प्रदेशसभातर्फ धनुषा–१ को (ख) मा नेकपा एमालेका रामचन्द्र मण्डलले ९ हजार २९ मत ल्याएर दोस्रोपटक निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी  लोसपाका संजय कुमार सिंहले ६ हजार २३१ मत ल्याएका छन् । त्यस्तै, जनमतका उम्मेदवार सुरेन्द्र कुमार मण्डलले ५ हजार १२८ मत पाएका छन् ।

धनुषा–२ को (क) मा नेकपा एमालेका लखन दास तत्मा निर्वाचित भएका छन् । तत्माले ११ हजार ५८१ मत ल्याएर निर्वाचित भएका हुन् ।उनका निकटतम प्रतिद्वन्द्वी जनमत पार्टीका दिपेन्द्र कुमार तेथवार यादवले ७ हजार ४३० मत ल्याएका हुन् । यस्तै जनता समाजवादी पार्टीका शैलेन्द्र कुमार यादवले ७ हजार १२८ मत ल्याएका हुन् ।

प्रदेशसभातर्फ धनुषा–२ को (ख) मा जसपाका उम्मेदवार रामअशिष यादव १० हजार ६१४ मत प्राप्त गरि पुनः दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् । यादवका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका श्याम कुमार यादवले ९ हजार ५६६ मत मात्र पाएका छन् । त्यस्तै, नेकपा एमालेका संजिव कुमार सुरजले ९ हजार २०४ मत ल्याएर तेस्रो स्थानमा सिमित भएका छन् ।

धनुषाको निर्वाचन क्षेत्र नम्बर–३ (क) बाट नेपाली कांग्रेसका उम्मेदवार रामसरोज यादव दोस्रोपटक निर्वाचित भएका छन् । सत्ता गठबन्धनको साथ पाएका यादव १७ हजार २९ मत ल्याएर दोस्रोपटक निर्वाचित भएका हुन् ।

उनका निकटम प्रतिद्वन्दी जसपा–एमाले गठबन्धनका उम्मेदवार जसपाका जीतेन्द्र कुमार यादवले १३ हजार ४५९ मत पाएका छन् । त्यस्तै जनमत पार्टीका उम्मेदवार डा. प्रसन्न कुमार झाले ७ हजार १८६ मत पाएका छन् ।

प्रदेशसभातर्फ धनुषा–३ को (ख) मा पछिल्लो मतपरिणामअनुसार लोसपाका उम्मेदवार परमेश्वर साहले ३ हजार २६५ मत ल्याएर अग्रता कायम गरेका छन् । उनलाई नेकपा एमालेका उम्मेदवार दिपेन्द्र ठाकुरले २ हजार ८३८ मतसहित पछ्याइरहेका छन् । त्यस्तै, तमलोपाका असगर अलिले १ हजार ५३१ मत पाएका छन् भने स्वतन्त्र उम्मेदवार हरिशंकर साहले १ हजार ४९० मत प्राप्त गरेका छन् ।

प्रदेशसभातर्फ धनुषा–४ को (क) मा पछिल्लो मतपरिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवार शेषनारायण यादव ५ हजार २८५ मत ल्याएर अग्रस्थानमा रहेका छन् । उनलाई नेकपा एमालेका उम्मेदवार संतोष यादवले ४ हजार ९२७ मतसहित पछ्याइरहेका छन् । त्यस्तै, यस प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादव भने ३ हजार ७७२ मत प्राप्त गरि तेस्रो स्थानमा सिमित बनेका छन् ।

धनुषाको निर्वाचन क्षेत्र नम्बर–४ को (ख)मा समाचार तयार पार्दासम्म मतगणना सुरु हुन सकेको छैन् ।