महोत्तरीको चारवटै क्षेत्रमा कसको अवस्था के छ?

जनकपुरधाम, ८ मंसिर । प्रतिनिधिसभातर्फ महोत्तरीको चार निर्वाचन क्षेत्रमध्ये एकमा एमाले, एकमा लोसपा, एकमा जसपा र एकमा कांग्रेसका उम्मेदवार अगाडि रहेका छन् ।
महोत्तरीको निर्वाचन क्षेत्र नम्बर–१ मा प्रतिनिधिसभातर्फ नेकपा एमालेका उम्मेदवार लक्ष्मी महतो ११ हजार ३ मत प्राप्त गरि अग्रस्थानमा रहेका छन् भने उनलाई नेकपा माओवादी केन्द्रका उम्मेदवार गिरिराजमणि पोखरेलले ९ हजार ६५५ मतसहित पछ्याइरहेका छन् ।
प्रतिनिधिसभातर्फ महोत्तरीको निर्वाचन क्षेत्र नम्बर–२ मा लोसपाका बरिष्ठ नेता शरत सिंह भण्डारी दोब्बर बढि मतसहित अग्रस्थानमा रहेका छन् । भण्डारी ११ हजार ६११ मतसहित अग्रस्थानमा रहेका छन् । उनलाई नेकपा एमालेका उम्मेदवार डा. रामपरीक्षण यादवले ५ हजार ४५२ मतसहित पछ्याइरहेका छन् । त्यस्तै, तमलोपाका डा. विजय कुमार सिंहले ५ हजार १९८ मत पाएका छन् ।
त्यस्तै, प्रतिनिधिसभातर्फ महोत्तरीको निर्वाचन क्षेत्र नम्बर–३ मा पछिल्लो मतपरिणामाअनुसार त्यहाँ जसपाका हरिनारायण यादवले ८ हजार ७४९ मत ल्याएर अग्रता बढाएका छन् भने उनलाई लोसपाका अध्यक्ष महन्थ ठाकुरले ८ हजार ३३१ मत ल्याएर पछ्याइरहेका छन् ।
त्यस्तै, स्वतन्त्र उम्मेदवार रामआधार कापरले ७ हजार ३७३ मत ल्याएर तेस्रो स्थानमा झरेका छन् भने तमलोपाका अध्यक्ष वृषेशचन्द्र लालले ७४१ मत मात्र ल्याउन सकेका छन् ।
त्यस्तै, महोत्तरीको निर्वाचन क्षेत्र नम्बर–४ मा प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसका महेन्द्र कुमार रायले १२ हजार ५५३ मत प्राप्त गरि अग्रता कायम राखेका छन् । रायलाई जसपाका उम्मेदवार पूर्वस्वास्थ्य राज्यमन्त्री डा.सुरेन्द्र कुमार यादवले ८ हजार ५८४ मत प्राप्त गरि पछ्याइरहेका छन् भने जनमत पार्टीका उम्मेदवार मनोज कुमार साहले ३ हजार ९७९ मत ल्याएका छन् ।
प्रदेशसभामा के छ अवस्था?
प्रदेशसभातर्फ महोत्तरी क्षेत्र नम्बर–१ (क) को मतगणना अझै सुरु हुन सकेको छैन् । उता, क्षेत्र नम्बर–१ (ख)को पछिल्लो मतपरिणामअनुसार माओवादी केन्द्रका उम्मेदवार रहेका मधेस प्रदेशका गृह तथा सञ्चारमन्त्री भरत प्रसाद साह ६ हजार ३५७ मत प्राप्त गरेर अग्रता कायम गरेका छन् भने जसपाका राम श्रेष्ठ महतो ५ हजार ७०६ मत प्राप्त गरेर उनलाई पछ्याइरहेका छन् । त्यस्तै, स्वतन्त्र उम्मेदवार विनोद कुमार महतोले ४ हजार ९३ मत पाएका छन् ।
प्रदेशसभातर्फ महोत्तरी–२ को (क) मा लोसपाका जयनुल राइन ९ हजार ५६९ मतसहित अग्रता कायम गरेका छन् भने उनलाई नेकपा एसकी मञ्जु कुमारी यादव ५ हजार ९०७ मत ल्याएर पछ्याइरहेकी छन् । त्यस्तै, जसपाका उम्मेदवार धमेन्द्र कुमार साहले ३ हजार ३०० मत पाएका छन् ।
महोत्तरी–२ को (ख)मा स्वतन्त्र उम्मेदवार सुरिता साह ७ हजार ४९२ मतसहित अग्रस्थानमा रहँदा नेपाली कांग्रेसका नागेश्वर यादवले ६ हजार १२२ मत पाएका छन् । त्यस्तै, जनमतका कोमल यादवले ३ हजार ५७७ मत पाएका छन् ।
प्रदेशसभातर्फ महोत्तरी–३ को (क)मा लोसपाका अभिराम शर्मा ९ हजार ८९२ मत ल्याएर निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी जसपाका दीपेन्द्र झाले ९ हजार ७१८ मत प्राप्त गरेका छन् ।
त्यस्तै, ३ को (ख)मा लोसपाकी रानी शर्मा तिवारी ६ हजार ४१४ मत प्राप्त गरि निर्वाचित भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार उज्ज्वल झाले ५ हजार ४८९ मत पाएका छन् । त्यस्तै, नेकपा एमालेका रामदयाल मण्डलले ४ हजार ५६७ मत पाएका छन् ।
प्रदेशसभातर्फ महोत्तरी–४ को (क) मा नेकपा एमालेका सरोज कुमार यादव ९ हजार ५६३ मतसहित अग्रस्थानमा रहेका छन् भने उनलाई लोसपाका कौशल कुमार यादवले ७ हजार ४८३ मत प्राप्त गरि पछ्याइरहेका छन् । त्यस्तै, जनमत पार्टीका उम्मेदवार रामस्नेही यादवले ५ हजार १९७ मत मात्र ल्याउन सकेका छन् ।
महोत्तरी–४ को (ख) मा माओवादी केन्द्रका लालेन्द्र कुमार मण्डल ८ हजार ८८६ मत ल्याएर अग्रता कायम गरेका छन् भने उनलाई जसपाका उम्मेदवार सरोज कुमार सिंहले ८ हजार ५१० मत प्राप्त गरि पछ्याइरहेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


