जनकपुरधाम, ७ मंसिर । प्रतिनिधिसभातर्फ पर्साको चार निर्वाचन क्षेत्र मध्ये तीनवटाको नतिजा सार्वजनिक भइसकेको छ ।

मतपरिणामअनुसार दुईवटामा कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् भने क्षेत्र नम्बर ३ मा पनि कांग्रेसकै उम्मेदवारले अग्रता कायम गरेका छन् ।

पर्साको निर्वाचन क्षेत्र नम्बर–१ मा भने जनता समाजवादी पार्टीका नेता प्रदीप यादवले खाता खोल्न सफल भएका छन् ।

प्रदिपले २२ हजार ५३७ मत ल्याउँदै निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार अजय कुमार द्विवेदीले २० हजार ९१७ मत ल्याउँदा राप्रपाका किरणमान डंगोलले २ हजार ६५९ मत ल्याएका छन् ।

त्यस्तै, निर्वाचन क्षेत्र नम्बर–२ मा कांग्रेसका अजयकुमार चौरसिया भारी मतान्तरले निर्वाचित भएका छन् । चौरसियाले जनता समाजवादी पार्टीका सुरेन्द्र कुर्मीलाई ६ हजार ६ मतको फराकिलो अन्तरले पराजित गरेका छन् । चौरसियाले २८ हजार ४५१ मत ल्याएका छन् भने कुर्मीले २२ हजार ४४५ मत ल्याए ।

चौरसिया तेस्रो पटक सांसदमा निर्वाचित भएका छन् । २०५६ र २०६४ को निर्वाचनमा निर्वाचित चौरसिया २०५८ मा सहायक राज्यमन्त्री समेत बनेका थिए ।

उता, पर्सा क्षेत्र नम्बर-३ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका राजकुमार गुप्ता निर्वाचित भएका छन् । गुप्ताले पाँचदलीय गठबन्धनका उम्मेदवार सुरेन्द्र चौधरीलाई १५१ मतको अन्तरले पराजित गर्दै जित हात पारेका हुन् ।

मतगणना सुरु भएदेखि नेपाली कांग्रेसका सुरेन्द्र चौधरी र एमालेका गुप्ताबीच निकै प्रतिस्पर्धा देखिएको थियो ।

गुप्ता २४ हजार २६० मतका साथ विजयी हुँदा चौधरीले भने २४ हजार १०९ मत पाएका छन् । तेस्रो स्थानमा रहेका नेपाल सुशासन पार्टीका राज कुमार यादवले भने १ हजार ४२ मत पाएका छन् ।

९० हजार ४३२ मतदाता रहेको यो क्षेत्रमा ६४ हजार ४४८ मत खसेको थियो ।

त्यस्तै, पर्साको निर्वाचन क्षेत्र नम्बर–४ बाट नेपाली कांग्रेसका रमेश रिजाल प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । उनले त्यहाँ नेकपा एमालेका जालिम मियाँ अंसारीलाई पराजित गर्दै जित निकालेका हुन् ।

निर्वाचन आयोगले दिएको मतपरिणामअनुसार रिजालले ३१ हजार १४२ मत ल्याएर विजयी हुँदा जालिमले २५ हजार ६१२ मत ल्याए ।

प्रदेशको नतिजा पनि सार्वजनिक

प्रदेशसभातर्फ पर्साको आठवटै निर्वाचन क्षेत्रको नतिजा पनि सार्वजनिक भइसकेको छ । पछिल्लो मतपरिणामअनुसार पर्सा क्षेत्र नम्बर–१ (क) मा नेकपा माओवादी केन्द्रका रहवर अंसारी विजयी भएका छन् । उनले ७ हजार ८१७ मतसहित विजयी हासिल गरेका हुन् ।

नेकपा एमालेका विचारीप्रसाद यादव दोस्रो भएका छन् । उनले ५ हजार ५१८ मत पाएका छन् । तेस्रो स्थानमा स्वतन्त्र उम्मेदवार जनत अंसारीले ५ हजार २८६ मत पाए ।

प्रदेशसभा सदस्यमा निर्वाचित अन्सारी २०७४ सालको स्थानीय तह निर्वाचनमा वीरगञ्ज महानगरमा माओवादी केन्द्रबाट मेयरका प्रत्याशी थिए ।

त्यस्तै, पर्सा–१ (ख) बाट ७ हजार ५४५ मत ल्याएर प्रदेशसभा सदस्यमा मुख्यमन्त्री लालबाबु राउत पुनः निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका रामनारायणप्रसाद कुर्मीले ६ हजार २१२ मत पाएका छन् ।

तेस्रो स्थानमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार विनयकुमार झाले २ हजार ८४१ र हाम्रो नेपाली पार्टीका ओमप्रकाश सर्राफले २ हजार ४१ मत पाए ।

पर्सा–२ को (क)मा नेपाली कांग्रेसका श्याम पटेल निर्वाचित भएका छन् । निकटतम् प्रतिस्पर्धी जनता समाजवादी पार्टीका रामनरेशप्रसाद यादवलाई १ हजार ६५७ मतान्तरले पराजित गर्दै पटेल निर्वाचित भएका हुन् । पटेलले १३ हजार ७८४ मत पाउँदा यादवले १२ हजार १२७ मत ल्याए ।

पर्सा–२ को (ख)मा लोकतान्त्रिक समाजवादी पार्टीका रमेश प्रसाद कुर्मी दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् । कुर्मीले ९ हजार ४७१ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी रुपेशमान सिंहले ६ हजार ८३४ मत मात्र प्राप्त गरे ।

पाँच दलीय गठबन्धनको तर्फबाट साझा उम्मेदवार रहेका कुर्मी यसअघि पनि सोही क्षेत्रबाट तत्कालिन राष्ट्रिय जनता पार्टीबाट निर्वाचित भएका थिए । कुर्मीले यसअघि नेपाली कांग्रेसका रामरूप कुर्मीलाई पराजित गरेका थिए ।

त्यस्तै, क्षेत्र नम्बर–३ (क) मा स्वतन्त्र उम्मेदवार प्रमोदकुमार जैसवाल विजयी भएका छन् । ७ हजार २८१ मत ल्याएर उनी विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका अबदुलरहिम अन्सारी ५ हजार ९३० मत प्राप्त गरि दोस्रो स्थानमा समेटिए ।

यसअघि सो क्षेत्रबाट २०७४ सालको चुनावमा तत्कालिन जसपाका अबदुलरहिम निर्वाचित भएका थिए ।

पर्सा क्षेत्र नम्बर–३ (ख) बाट प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका जर्नादन सिंह क्षेत्री विजयी भएका छन् । उनले ११ हजार २८४ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी जसपाकी मधु गुप्ताले ७ हजार ४९६ मत प्राप्त गरिन् ।

नेकपा एकीकृत समाजवादीका प्रहलाद गिरी गोस्वामी ६ हजार ५०३ मत ल्याएर तेस्रो स्थानमा सिमित रहे ।

पर्साको निर्वाचन क्षेत्र नम्बर–४ (क) मा नेपाली कांग्रेसका शंकर चौधरी निर्वाचित भएका छन् । चौधरीले १२ हजार १५४ मत ल्याएर निर्वाचित हुँदा एमालेका जयप्रकाश थारु १० हजार ४३८ मत ल्याए ।

त्यस्तै, क्षेत्र नम्बर–४ (ख) मा स्वतन्त्र उम्मेदवारलाई पराजित गरी जसपाका सिंगासन सा कलवार विजयी भएका छन् ।

उनले १५ हजार ३८५ मत ल्याउँदा स्वतन्त्र उम्मेदवार प्रल्हाद साह कानुले १२ हजार ६४१ मत प्राप्त गरे । सत्तारूढ गठबन्धनबाट उम्मेदवारी दिएकी माओवादी केन्द्रकी चाँद तारा कुमारी १ हजार ७६५ मत ल्याइन् ।

सिंगासन २०७४ सालको निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरमबाट विजयी भएका थिए ।