जनकपुरधाम, ७ मंसिर । धनुषाका चार निर्वाचन क्षेत्रमध्ये क्षेत्र नम्बर–१ मा जसपा, २ र ३ मा एमाले तथा ४ मा कांग्रेसका उम्मेदवारले अग्रता बढाएका छन् ।

धनुषामा पछिल्लो मतपरिणामअनुसार पाँचदलीय गठबन्धनका उम्मेदवारहरु भने पछाडि परेका छन् ।

धनुषाको क्षेत्र नम्बर–१ को पछिल्लो मतपरिणामअनुसार जनता समाजवादी पार्टी नेपालका उम्मेदवार दीपक कार्कीले अग्रता कायमै राखेका छन् ।

कार्कीले ६ हजार ३५३ मत प्राप्त गर्दा नेकपा मओवादी केन्द्रका मातृका प्रसाद यादवले ३ हजार ८६५ मत ल्याएर दोस्रो स्थानमा पुगेका छन् ।

त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार मनोज मल्ल ठकुरीले २ हजार ८६८ मत ल्याएका छन् भने जनमत पार्टीका किशोरी साह कमलले २ हजार ८२७ मत पाएका छन्

धनुषा–२ मा भने पछिल्लो मतपरिणामअनुसार नेकपा एमालेका उम्मेदवार उमाशंकर अरगरियाले अग्रता कायम राखेका छन् ।

अरगरियाले ७ हजार ८६४ मत प्राप्त गर्दा पाँचदलीय गठबन्धनको साथ पाएका नेपाली कांग्रेसका उम्मेदवार रामकृष्ण यादवले ७ हजार ५३३ मत ल्याएका छन् ।

त्यस्तै, नेकपा एकीकृत समाजवादीका उम्मेदवार रामचन्द्र झा ६ हजार २३१ मत ल्याएर तेस्रो स्थानमा पुगेका छन् ।

त्यस्तै, जनता समाजवादी पार्टी नेपालका उम्मेदवार गंगाराम यादव ५ हजार २१८ मत ल्याएर तेस्रो स्थानमा छन् भने जनमत पार्टीका उम्मेदवार जयनारायण साहले ४ हजार २५४ मत ल्याएका छन् ।

धनुषा–३ मा पनि नेकपा एमालेकी उम्मेदवार जुलीकुमारी महतोले १४ हजार ५३८ मत ल्याएकी छन् ।

पाँचदलीय गठबन्धनबाट लोसपाका अनिल झाले ११ हजार ५३७ मत ल्याएर दोस्रो स्थानमा रहेका छन् । पहिलोपटक चुनावमा होमिएको जनमत पार्टीका उम्मेदवार शम्भुनाथ साहले ३ हजार ५१७ मत प्राप्त गरेका छन् ।

धनुषा–४ मा नेपाली कांग्रेसका सह–महामन्त्री महेन्द्र यादवले ३ हजार ९०१ मत प्राप्त गरि अग्रता बढाएका छन् । नेकपा एमालेका सचिव रघुवीर महासेठ ३ हजार ८२७ मतसहित दोस्रो स्थानमा झरेका छन् ।

धनुषाका यी चारवटै क्षेत्रमा अहिले नै कसको जित हुन्छ भन्ने अवस्थाको अझै अनुमान गर्न सकिँदैन ।