काठमाडौं, ६ मंसिर । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ह्याट्रिक जित निकालेका छन् ।

काठमाडौं–४ बाट थापाले फराकिलो अन्तरले नेकपा एमालेका राजन भट्टराईलाई हराउँदै ह्याट्रिक जित निकालेका हुन् ।

भट्टराईलाई थापाले ७ हजार ४४६ मतान्तरले पराजित गरे । गगन थापाले २१ हजार ३०२ मत पाए भने नेकपा एमालेका उम्मेदवार राजन भट्टराईले १३ हजार ८५५ मात्र मत ल्याए ।

०७४ मा पनि थापाले एमालेका भट्टराईलाई नै पराजित गरेका थिए । त्यो चुनावमा वाम गठबन्धनका तर्फबाट एमालेका भट्टराई प्रतिस्पर्धामा थिए । तर ३२ सय मतान्तरले थापाले जितेका थिए । यसपटक थापाले मतान्तरले थप फराकिलो बनाएका छन् ।

०७० मा पनि गगनले यही क्षेत्रबाट एमालेका निर्मल कुँइकेललाई पराजित गरेका थिए । ०६४ मा थापा समानुपातिक सांसद थिए । ३१ वर्षे उमेरमै समानुपातिक सांसद रहेका थापा लगत्तै कांग्रेस केन्द्रीय सदस्य निर्वाचित भएका थिए । अहिले उनी कांग्रेस महामन्त्री छन् ।

यसैबिच, निर्वाचन मतपरिणाम घोषणा भएगलत्तै सम्बोधन गर्दै थापाले भने, ‘संसदीय दलको निर्वाचनको तयारीमा आजैदेखि लाग्छु । मतदाताको मनमा के छ । मनको कुरा पनि व्यक्त गर्नुभएको छ । त्यो पूरा गर्नुपर्छ ।’

उनले अहिले जनताले स्थायित्वमात्रै नभई नेपाललाई हाँक्ने नयाँ चालक पनि खोजेको बताए । ‘त्यो चालक कांग्रेसभित्रै छन् । यो बहस पार्टीभित्र पनि भइसकेको छ । कांग्रेसले नयाँ नेतृत्व दिन जरुरी छ । देशभरबाटै यो विचार व्यक्त भएको छ,’ उनले थपे ।

काठमाडौं ४ बाट २१ हजार ३०२ मतका साथ विजयी भएका थापाले मतदाताको विश्वासमाथि घात नगर्ने वाचासमेत गरेका छन् । उनले मतदाताले दिएको जिम्मेवारी इमानदारिताकासाथ पूरा गर्ने बताए ।

यसैबीच, उनले यो निर्वाचनमा गठबन्धनले नै बहुमत पाउने र गठबन्धनकै सरकार बन्ने दाबी गरे । तर, सबै कुराको अहिले नै विश्लेषण गर्न हतार हुने बताए । ‘गठबन्धनले बहुमत प्राप्त गर्छ । सरकार बन्छ । सरकार बन्ने वित्तिकै राम्रो हुँदैछ भन्ने विश्वास दिलाउनु पर्नेछ । यो हाम्रोसामु चुनौती छ । ‘

यसपटक नागरिकले मतसँगै आक्रोश पनि व्यक्त गरेको उनको भनाइ छ । ‘मतदाताले मत र आक्रोश पनि व्यक्त गरेका छन् । संविधानमा भएका वाचा पूरा भएको छैन । आक्रोशित छन् ।’