जनकपुरधाम, ५ मंसिर । सप्तरीको निर्वाचन क्षेत्र नम्बर–२ मा प्रतिनिधि सभा र प्रदेशसभा दुबैमा जनमत पार्टीका उम्मेदवारले अग्रता कायम गरेका छन् ।

प्रतिनिधिसभातर्फ सप्तरी–२ मा जनमतका अध्यक्ष डाक्टर सीके राउतले जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवलाई तेब्बर मतले पछाडि पारेका छन् । त्यहाँ उनको जित निकाल्ने सम्भावना थप बलियो बनेको छ ।

सीके राउत ३ हजार ९७५ मतसहित अग्रस्थानमा रहेका छन् भने जसपा अध्यक्ष उपेन्द्रले मात्र १ हजार ७१७ मत ल्याएका छन् ।लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार जयप्रकाश ठाकुर ९१३ मतसहित तेस्रो स्थानमा छन् ।

त्यस्तै, प्रदेशसभा तर्फ सप्तरी २ को (क) मा जनमत पार्टीका सतिश कुमार सिंह ३ हजार ८०० मतसहित अग्रस्थानमा रहेका छन् । त्यहाँ जसपाका उम्मेदवार शैलेन्द्र प्रसाद साहले १ हजार ८३२ मत प्राप्त गर्दा लोसपाका सरोजकुमार मण्डलले १ हजार ३९४ मत ल्याएका छन् ।

प्रदेशसभा तर्फ सप्तरी २ को (ख) मा पनि जनमतकै उम्मेदवारको अग्रता रहेको छ । त्यहाँ जनमत पार्टीका महेश प्रसाद यादव ३ हजार ६७ मतसहित अग्रस्थानमा रहेका छन् । त्यस्तै, माओवादी केन्द्रका उम्मेदवार उमेश कुमार यादवले १ हजार ५३८ मत मात्र प्राप्त गरेका छन् भने जसपाका लक्ष्मण यादवले १ हजार १८४ मत पाएका छन् ।