जनकपुरधाम, ४ मंसिर । धनुषामा मतगणना आज रातिदेखि सम्भव नहुने भएको छ ।

मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले मतपेटिका संकलनको कार्य अझै जारी रहेकोले रातिदेखि मतगणना कार्य प्रारम्भ नहुने जानकारी दिएका हुन् ।

उनले चारवटै निर्वाचन क्षेत्रका मतपेटिकाहरू सम्बन्धित मतगणनास्थलहरूमा जम्मा गर्ने  क्रम जारी नै रहेकाले भोलि बिहानदेखि मात्र मतगणना सुरू हुन सक्ने बताए ।

जिल्लाका चारवटै निर्वाचन क्षेत्रका ६०५ वटै मतदान केन्द्रमा मतदान कार्य सम्पन्न भएसँगै मतपेटिकाहरू संकलन गर्ने कार्य अझै जारी रहेकोले अबेर रातिसम्म मतपेटिका संकलन गरी सर्वदलीय बैठकपश्चात सोमबार बिहान ८/९ बजेदेखि मतगणना कार्य प्रारम्भ गर्नेगरी तयारी भएको प्याकुरेलले जानकारी दिए ।

जिल्लाका चारवटै निर्वाचन क्षेत्रहरूको मतगणना फरक–फरक चार ठाउँमा हुने भएको छ ।

जिल्लाको क्षेत्र नम्बर–१ को धनुषाधाममा, क्षेत्र नम्बर–२ को तिनकौरियामा, क्षेत्र नम्बर–३ को जनकपुरधाममा र क्षेत्र नम्बर–४ को महेन्द्रनगरमा मतगणना हुने मुख्य निर्वाचन अधिकृत प्याकुरेलले जानकारी दिए ।

उनले सबै मतगणनास्थलहरूमा सुरक्षाका लागि तारजाली र सीसीटिभी क्यामरा जडान गरिएको बताए ।

आइतबार सम्पन्न निर्वाचनमा धनुषामा ६२ प्रतिशत मत खसेको छ ।

प्रतिनिधिसभा तर्फ धनुषाको निर्वाचन क्षेत्र नम्बर–१ मा २५, क्षेत्र नम्बर–२ मा १६, क्षेत्र नम्बर–३ मा ३१ र क्षेत्र नम्बर–४ मा ३१ जना उम्मेदवार छन् भने प्रदेशसभा १ को (क) मा १४, (ख) मा १४ र २ को (क) मा १४ तथा (ख) मा १७ जना उम्मेदवार छन् । त्यस्तै, ३ को (क) मा २० र (ख) मा २७ तथा ४ को (क) मा १९ र (ख) मा १३ जना उम्मेदवार छन् ।