काठमाडौं, ४ मंसिर । आइतबार भएको प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचनमा देशभर ६१ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ ।

आइतबार साँझ पत्रकार सम्मेलनको आयोजना गरि प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आयोगको प्रणालीमा प्रविष्ट भएको विवरण अनुसार देशभर ६१ प्रतिशत मतदान भएको बताएका हुन् ।

उनले सबै विवरण प्रविष्ट हुँदा केही प्रतिशत थप हुनसक्ने आशा गरेको बताए । आयोगले अनुमान गरेको भन्दा थोरै मात्र मतदान भएको प्रमुख आयुक्त थपलियाले जानकारी दिए ।

सुर्खेत, नवलपरासी पूर्व र गुल्मी तथा बाजुराका गरि १५ स्थानमा मतदान स्थगित भएको उनले जानकारी दिए ।

आयोगले रद्द भएका मतदान केन्द्रमा आवश्यक तयारी गरेर दुई दिनभित्र मतदान गराउन निर्णय गरिसक्न निर्देशन दिएको उनले बताए ।निर्वाचनका क्रममा बाजुरामा एकजनाको मृत्यु भएको प्रमुख आयुक्त थपलियाले बताए ।

जिल्लाको त्रिवेणी नगरपालिका वडा नम्बर–७ स्थित मतदान केन्द्रमा सुरक्षाकर्मीले चलाएको गोलीले सोही ठाउँका २६ वर्षीय सन्दीप एडीको मृत्यु भएको छ ।

झडपमा घाइते हुनेमा प्रहरी हवल्दार कृष्ण कुँवर, पशुराम उपाध्याया, र खडक बहादुर एडी र प्रेम बहादुर थापा रहेका छन् ।