जनकपुरधाम, ४ मंसिर । धनुषाको जनकपुरधाम उपमहानगरपालिकाका १०५ वर्षीय मनक दासले प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा मतदान गरेका छन् ।

जनकपुरधाम उपमहानगरपालिका–११ बस्ने मनकले जनकपुरधाम–११ स्थित जनता प्रावि मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

मतदाता परिचयपत्रमा उल्लेख जन्ममितिका अनुसार आफू ९६ वर्षको रहेपनि आफ्नो उमेर १०५ वर्ष रहेको उनले बताए ।

मनकले आफूले उत्साहपूर्ण रुपमा मतदान प्रक्रियामा सहभागी भई आफ्नो क्षेत्रका लागि सक्षम जनप्रतिनिधि चयन गर्न आफ्नो मतको सदुपयोग गरेको बताए ।

उता, धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकामा पनि ९८ वर्षीया एक बृद्धाले मतदान गरेकी छन् ।

मुखियापट्टी मुसहरनिया गाउँपालिका–४ तुलसियाही बस्ने ९८ वर्षीया इन्दिरा देवी ठाकुरले तुलसियाही–४ स्थित बैद्यनाथ देव जनता माविस्थित मतदान केन्द्रमा आफैं पुगेर मतदान गरेको उनका छोरा कविन्द्रनाथ ठाकुरले जानकारी दिए ।

इन्दिराले आफू विगत ७० वर्षदखि देशको हरेक मतदान प्रक्रियामा सहभागी हुँदै आएको बताइन् । उनले आफ्नो क्षेत्रका लागि जनप्रतिनिधि चयन गर्न पाउँदा आफू अत्यन्त हर्षित भएकोसमेत बताइन् ।