जनकपुरधाम, ४ मंसिर । धनुषामा हालसम्म ४२ प्रतिशत मतदान सम्पन्न भएको छ । धनुषाका मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले आइतबार दिउँसो २ बजेर ३० मिनेटसम्म जिल्लाको चारवटै निर्वाचन क्षेत्र मिलाएर अहिलेसम्म कूल ४२ प्रतिशतसम्म मतदान सम्पन्न भएको जानकारी दिएका छन् ।

प्याकुरेलले जिल्लामा निर्वाचन सामग्री, निर्वाचन कर्मचारी, मतदाताहरू र उम्मेदवारलाई अहिलेसम्म कुनै किसिमको भौतिक क्षति नपुगेको बताएका छन् । उनले मतपेटिका ढुवानीका लागि आवश्यकताअनुसारका सवारीसाधन तैनाथ राखिएको पनि जानकारी दिए ।

‘जिल्लाभरिमा शान्तिपूर्ण र व्यवस्थित रुपमा मतदान भइरहेको हामीले पाएका छौँ,’ उनले भने, ‘हामीले सुरक्षा व्यवस्था कडा बनाएका छौँ । दिउँसो २ बजेर ३० मिनेटसम्म ४२ प्रतिशतसम्म मतदान भएको भन्ने जानकारी आएको छ । मतपेटिका ढुवानीका लागि आवश्यकताअनुसारका सवारीसाधन तैनाथ राखिएको छ ।’

जिल्लाको ३२३ मतदानस्थलका ६०६ मतदान केन्द्रमार्फत बिहान ७ बजेदेखि शान्तिपूर्ण रुपमा मतदान कार्य जारी रहेको छ ।

यस जिल्लामा २ लाख ५२ हजार ९१५ पुरुष, २ लाख २१ हजार ६६५ महिला र अन्य ७ गरी कूल ४ लाख ७४ हजार ५८७ मतदाता रहेका छन् ।

जिल्लामा अतिसंवेदनशिल १९४, संवेदनशिल १११ र १७ वटा सामान्य मतदानस्थल रहेका छन् ।

प्रतिनिधिसभा तर्फ धनुषाको निर्वाचन क्षेत्र नम्बर–१ मा २५, क्षेत्र नम्बर–२ मा १६, क्षेत्र नम्बर–३ मा ३१ र क्षेत्र नम्बर–४ मा ३१ जना उम्मेदवार छन् भने प्रदेशसभा १ को (क) मा १४, (ख) मा १४ र २ को (क) मा १४ तथा (ख) मा १७ जना उम्मेदवार छन् । त्यस्तै, ३ को (क) मा २० र (ख) मा २७ तथा ४ को (क) मा १९ र (ख) मा १३ जना उम्मेदवार छन् ।