जनकपुरधाम, ४ मंसिर । आज देशभर बिहान ७ बजेदेखि जारी रहेको निर्वाचनमा उम्मेदवार बनेका धनुषाका ‘हेभिवेट’ उम्मेदवारहरू आफूले आफैंलाई मत खसाउनबाट बञ्चित भएका छन् ।

मतदाता नामावलीमा नाम भएको क्षेत्रभन्दा बाहिर उम्मेदवार बन्दा उनीहरू मत खसाउनबाट बञ्चित भएका हुन् ।

धनुषाको निर्वाचन क्षेत्र नम्बर–३ मा दुई पूर्वमन्त्रीसहित ३१ जना चुनावी मैदानमा रहेपनि मुख्य प्रतिस्पर्धीले नै आफैंलाई मतदान गर्नबाट बञ्चित भएका छन् ।

नेकपा एमालेबाट उम्मेदवार रहेकी पूर्वमन्त्री जुलीकुमारी महतो र लोकतान्त्रिक समाजवादी पार्टीबाट सत्ता गठबन्धनका उम्मेदवार अनिलकुमार झाले आफैंलाई मतदान गर्नबाट बञ्चित भएका छन् ।

प्रतिनिधिसभा सदस्य पदकी उम्मेदवार महतो धनुषा क्षेत्र नम्बर–४ को भोटर हुन् । तर, उम्मेदवारी धनुषा–३ बाट दिएकी छन् । त्यस्तै, झा पनि रौतहट क्षेत्र नम्बर–१ का मतदाता हुन् । तर, उनको उम्मेदवारी धनुषा–३ बाट परेको छ ।

जुलिले आज बिहानै धनुषाको निर्वाचन क्षेत्र नम्बर-४ मा रहेको जनकपुरधाम-९ स्थित सुहृदय पुस्तकालयको मतदान केन्द्र पुगेर मत खसालेकी छन् । त्यस्तै नेकपा एमालेका केन्द्रीय सचिव समेत रहेका धनुषा क्षेत्र नम्बर-४ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार रघुवीर महासेठ पनि सोही मतदान केन्द्र पुगेर मतदान गरेका छन् ।

धनुषा–३ मा राष्ट्रिय राजनीतिका दुई ‘हेभिवेट’ उम्मेदवारबीच प्रतिस्पर्धा भइरहेको छ । जुलीलाई एमाले र जसपाको समर्थन छ भने अर्का नेता अनिललाई सत्ता गठबन्धनको समर्थन छ ।

मतदाता नामावली भएका क्षेत्रभन्दा फरक ठाउँमा मत दिन नपाउने व्यवस्थाअनुसार उनीहरू दुबैजनाले आफैँलाई मत हाल्न नपाउने भएका छन् ।