कञ्चनपुर, ३ मंसिर । आसन्न प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका लागि कञ्चनपुरका मतदान केन्द्रलाई लैङ्गिक समावेशी र अपाङ्गमैत्री बनाइएको छ ।

जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरका प्रमुख उदयराज जोशीका अनुसार प्रतिनिधिसभाका तीन वटा निर्वाचन क्षेत्रमा रहेका ३४६ मतदान केन्द्रलाई लैङ्गिक समावेशी र अपाङ्गमैत्री बनाइएको हो ।

निर्वाचन क्षेत्र नं १ मा ११९, क्षेत्र नं २ मा ११८ र क्षेत्र नं ३ मा १०९ मतदान केन्द्र रहेका छन् । निर्वाचनका लागि ३४६ मतदान केन्द्रमा २ हजार ७५० कर्मचारी खटाइएका छन् । निर्वाचन सामग्रीसहित कर्मचारी र सुरक्षाकर्मी निर्वाचन केन्द्रमा पुगिसकेका छन् ।

निर्वाचनमा खटिएका कर्मचारीलाई निर्वाचन अधिकृतको कार्यालयबाट निर्वाचनसम्बन्धी सामग्री उपलब्ध गराई केन्द्रमा खटाइएको हो ।