काठमाडौं, ३ मंसिर । पहिलो संस्करणको नेपाल टी–२० लिगको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले खेल तालिका सार्वजनिक गरेको हो ।

प्रतियोगिता कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा २६ मंसिरबाट १६ पुससम्म हुनेछ । डबल राउन्डमा हुने यस प्रतियोगितामा कुल ३४ खेल हुनेछ ।

लिगको उद्घाटन खेलमा पोखरा एभेन्जर्स र काठमाडौं गोर्खाजबीच प्रतिस्पर्धा हुनेछ । यो खेल बिहान सवा ९ बजे सुरू हुनेछ ।

सोहि दिन दिउँसो सवा १ बजे सुरू हुने खेलमा लुम्बिनी अल स्टार्स र फार वेस्ट युनाइटेड प्रतिस्पर्धा गर्नेछन् । लिग चरणका ३० खेल हुँदा प्रत्येक दिन दुई खेल हुनेछ । प्लेअफका खेलका दिन भने दिनमा एक खेल मात्र हुनेछ ।

लिगको पहिलो संस्करणमा काठमाडौं गोर्खाज, पोखरा एभेन्जर्स, फार वेस्टर्न युनाईटेड, जनकपुर रोयल्स, विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार्स गरि ६ टोलीको सहभागिता छ ।