किसान श्रेष्ठ र जितेन्द्र सोनलसँग आयोगले सोध्यो १२ घण्टे स्पष्टीकरण

जनकपुरधाम, २ मंसिर । स्थिर समय (मौन अवधि)मा पनि घरदैलो कार्यक्रमको आयोजना गरेको समाचार सार्वजनिक भएपछि निर्वाचन आयोगले बारा क्षेत्र नं. ४ मा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार कृष्णकुमार श्रेष्ठ किसान एवम् क्षेत्र ४ (२)का प्रदेश सभा सदस्य पदका उम्मेदवार जितेन्द्र सोनलसँग स्पष्टीकरण सोधेको छ ।
आयोगले निर्वाचनको स्थिर समय (मौन अवधि) सुरू भइसकेको अवस्थामा पनि प्रचारप्रसार गरेको भन्दै दुबैजनासँग स्पष्टीकरण सोधेको हो ।
आयोगले दुबैजनालाई एकै व्यहोराको पत्र लेख्दै १२ घण्टाभित्र जवाफ दिन भनेको छ ।
‘तपाईंले निर्वाचन आचारसंहिताविपरीत हुने गरी मौन अवधिमा घरदैलो गरेकोबारे समाचार प्रकाशन भएकोप्रति आयोगको ध्यानाकर्षण भई यो पत्र लेखिएको छ’, आयोगले भनेको छ, ‘निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ को उपदफा (१) को खण्ड (क) मा ‘निर्वाचन प्रचारप्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी आदि गर्न नपाइने’ व्यवस्था छ। आचारसंहिताको त्यही दफाको उपदफा (१) को खण्ड (ग) मा ‘कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न नहुने’ व्यवस्था छ।’
‘तपाईंबाट निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ को उपदफा (१) को खण्ड (क) र खण्ड (ग) को विपरीत हुने कार्य भएको ठहर भएमा तपाईंलाई निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) र (४) बमोजिमको कारवाही नहुनु पर्ने कारण के छ?’, आयोगले भनेको छ, ‘पत्र प्राप्त भएको समयले १२ घण्टाभित्र आयोगको इमेल वा जिल्ला निर्वाचन कार्यालय बारामा प्राप्त हुने गरी लिखित स्पष्टीकरण पेश गर्न भनिएको छ।’
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


