युएईविरुद्धको एकदिवसीय सिरिजमाथि नेपालको कब्जा

एजेन्सी, २ मंसिर । घरेलु टोली नेपालले युएईविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज जितेको छ । नेपालले शुक्रबार सम्पन्न तेस्रो तथा अन्तिम खेलमा ६ विकेटको जित हात पार्दै तीन खेलको सिरिज २–१ ले आफ्नो पक्षमा पारेको हो ।
नेपालले घरेलु मैदानमा जितेको यो पहिलो एकदिवसीय सिरिज हो । यसअघि नेपालले पपुवा न्युगिनीसँगको दुई खेलको सिरिज २–० ले हारेको थियो ।
१७७ रनको लक्ष्य नेपालले ४०.१ ओभरमा चार विकेट गुमाउँदै भेट्टायो । नेपालका लागि आरिफ शेख र ज्ञानेन्द्र मल्लले अर्धशतकीय पारी खेले ।
८८ रनमा अविजित रहेका शेखले ११९ बलको सामना गर्दै १२ चौका प्रहार गरे । मल्लले ७३ बलमा सात चौका र तीन छक्कासहित ६४ तथा कप्तान रोहितकुमार पौडेलले १० रन जोडे ।
मल्ल र शेखले दोस्रो विकेटका लागि १२२ रनको उत्कृष्ट साझेदारी गरेका थिए । युएईका लागि हजरत बिलाल र आयन खानले समान एक विकेट हात पार्दा दुई विकेट रन आउटका रूपमा प्राप्त भयो ।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको युएईले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै १७६ रन बनाएको थियो ।
उसका लागि आयन खानले अविजित रहँदै ६३ बलमा सात चौका र एक छक्कासहित ५४ रनको अर्धशतकीय पारी खेले । अलिसान सराफुले ३३, रोहन मुस्ताफाले २४, हजरत बिलालले अविजित २० र मोहम्मद वासिमले ११ रन जोडे ।
अन्तिम विकेटका लागि खान र बिलालले अविजित ८३ रनको साझेदारी गर्दै युएईको पारी उकासेका थिए । नेपालका लागि कुशल भर्तेल, दीपेन्द्रसिंह ऐरी र गुल्सन झाले दुई/दुई तथा सोमपाल कामी र ललितनारायण राजवंशीले एक/एक विकेट लिँदा एक विकेट रन आउटका रूपमा प्राप्त गरे ।
सिरिजको पहिलो खेलमा युएई ८४ रन तथा दोस्रो खेलमा नेपाल तीन विकेट विजयी भएका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


