पार्टी निर्णय विपरीत कार्य गरेको भन्दै शिव पुजन यादव माओवादीबाट निष्कासित

जनकपुरधाम, १ मंसिर । नेकपा माओवादी केन्द्रले पार्टीका प्रदेश कमिटी सदस्य शिव पुजन यादवलाई पार्टीबाट निष्कासन गरेको छ ।
नेकपा माओवादी केन्द्रका मधेस प्रदेश इन्चार्ज गणेश साहले यादवलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरि पार्टीबाट निष्कासन गरिएको जनाएका छन् ।
यादवलाई मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचनमा गठबन्धन दलहरुबीच सहमति भई बनेका माओवादी केन्द्रका उम्मेदवारको विरुद्ध एवम् गठबन्धनका आधिकारिक उम्मेदवारको विरुद्धमा बागी उम्मेदवारी दिएकी आफ्नी छोरीलाई प्रतिनिधि सभामा, भतिजो र अन्य सदस्यलाई प्रदेशसभामा पार्टीसँग गरेका बाचालाई समेत ख्याल नगरी मनोमानी ढंगले पार्टीको निर्णय विपरीत कार्यहरु गरी प्रचार–प्रसारमा संलग्न भएकोले पार्टीबाट निष्कासन गरिएको छ ।
माओवादी केन्द्रले सार्वजनिक रुपमा उम्मेदवारी फिर्ता लिन अनुरोध गरिसकेको र सोको समयावधि पनि समाप्त भई पार्टीको मधेस प्रदेश समितिले बुधबार सोधेको २४ घण्टे स्पष्टिकरणको कुनै जवाफ नदिएकोले पार्टीको अन्तरिम विधान २०७८ को धारा ७ (१) (छ) अनुरुप पार्टीको सिद्धान्त, कार्यक्रम, नीति प्रभावित भएको भन्दै धारा ९ (१) (ग) बमोजिम पार्टीले अनुशासनको कारबाही गरी आजकै मितिदेखि लागु हुने गरी सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरी साधारण सदस्य समेतबाट निष्कासन गरेको मधेस प्रदेश इन्चार्ज गणेश साहले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।
यसअघि गठबन्धन दलका आधिकारिक उम्मेदवारको विरुद्धमा प्रचारप्रसार तथा मत मागेको भन्दै माओवादी केन्द्र मधेस प्रदेशले पार्टीका मधेश प्रदेश कमिटी सदस्य भरत कुमार थापा, शिव पुजन यादव, रमेश बुढाथोकि (कमल), सर्लाही जिल्ला कमिटी सदस्य मोहन लाल श्रेष्ठ, हरिवन नगर कमिटी अध्यक्ष तारा राज पन्त र रामनगर गाउँपालिका कमिटी अध्यक्ष राजाबाबु यादवसँग स्पष्टीकरण मागेको थियो ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


