एजेन्सी, १ मंसिर । उत्तर कोरियाले बिहीबार छोटो दूरीको ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाली सैनिक स्रोतले जनाएको छ ।

वासिङ्टनले क्षेत्रीय सुरक्षा सहयोग लाई बढावा दिन र आणविक शक्ति सम्पन्न उत्तर कोरियाको बढ्दो उक्साहटको जवाफमा संयुक्त सैन्य अभ्यासलाई बढावा दिन खोजिरहेको छ । उत्तर कोरियाले यस्ता सबै कदमहरूलाई अमेरिकी आक्रमकताको प्रमाणको रूपमा हेर्छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले यसै साताको सुरुमा चिनियाँ समकक्षी सी जिनपिङसँग उत्तर कोरियाले हालै गरेको क्षेप्यास्त्र परीक्षणबारे छलफल गर्नुका साथै टोकियो र सियोलका नेताहरूसँग पनि कुराकानी गरेका थिए ।

उत्तर कोरियाका विदेशमन्त्री चोइ सोन हुईले बिहीबार सरकारी समाचार संस्था केसीएनएमार्फ सार्वजनिक विज्ञप्तिमा वासिङ्टनले आफ्नो ‘विस्तारित प्रतिरोध’ बढाउने र क्षेत्रीय सुरक्षा सहयोगीहरूसँग संयुक्त अभ्यास गर्ने कदम ‘मुर्खतापूर्ण कार्य’ भएको बताएका छन् ।

उक्त क्षेप्यास्त्र ४७ किलोमिटरको उचाईमा करिब २४० किलोमिटर (१५० माइल) उडेको र म्याक–फोर को गतिमा उडेको सेनाले जनाएको छ ।

जापानले पनि उत्तर कोरियाले क्षेप्यास्त्र प्रहार गरेको पुष्टि गरेको छ भने प्रधानमन्त्री कार्यालयले प्योङयाङको ब्यालेस्टिक क्षेप्यास्त्र प्रहारसहितका गतिविधिले हाम्रो देश र क्षेत्रीय तथा अन्तर्राष्ट्रिय समुदायको शान्ति र सुरक्षालाई खतरामा पारेको बताएको छ ।

प्योङयाङका विदेशमन्त्रीले दिएको वक्तव्यसँग मिल्दोजुल्दो गरी बिहीबारको क्षेप्यास्त्र परीक्षण गरिएको विज्ञहरूले बताएका छन् ।