एजेन्सी, १ मंसिर । इंग्ल्याण्डविरुद्धको अन्तर्राष्ट्रिय एकदिवसीय सिरिजअन्तर्गत बिहीबार सम्पन्न पहिलो खेलमा घरेलु टोली अस्ट्रेलिया ६ विकेटले विजयी भएको छ ।

२८८ रनको लक्ष्य अस्ट्रेलियाले ४५.५ ओभरमा ४ विकेट गुमाउँदै भेट्टायो । उसका लागि डेविड वार्नरले ८४ बलमा १० चौका र १ छक्कासहित ८६ रनको पारी खेले । स्टिभ स्मिथले ७८ बलमा ९ चौका र १ सहित अविजित ८० रन बनाए ।

६९ रनको योगदान दिएका ट्राभिस हेडले ५७ बलमा १० चौका र १ छक्का प्रहार गरे । एलेक्स केरीले २१ र क्यामरोन ग्रीनले अविजित २० रन जोडे ।

इंग्ल्याण्का लागि डेविड विली २ तथा लियम ड्वसन र क्रिस जोर्डनले १/१ विकेट हात पारे । त्यसअघि एडिलेड ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको इंग्ल्याण्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २८७ रन बनाएको थियो ।

उसका लागि डेविड मलानले १२८ बलमा १२ चौका र ४ छक्काको मद्दले १३४ रनको उत्कृष्ट पारी खेले । डेविड विलीले अविजित ३४, कप्तान जोस बटलरले २९, साम विलिङ्गसले १७, फिल साल्ट र क्रिस जोर्डनले १४/१४, लियम ड्वसनले ११ तथा लुक उडले १० रन जोडे ।

अस्ट्रेलियाका लागि एडम जाम्पा र कप्तान प्याट कमिन्सले समान ३ तथा मिचेल स्टार्क र मार्कुस स्टोइनिसले १/१ विकेट लिँदा १ विकेट रन आउटका रूपमा प्राप्त भयो ।

यो जितसँगै अस्ट्रेलियाले तीन खेलको सिरिजमा १–० को अग्रता लिएको छ । दोस्रो खेल शनिबार हुनेछ ।