प्रचण्ड र उपेन्द्रको उम्मेदवारी रद्द गर्न माग गर्दै निर्वाचन आयोगमा उजुरी

काठमाडौं, ३० कार्तिक । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवको उम्मेदवारी रद्द गर्न माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ । समाजवादी केन्द्रका सर्वोच्च नेता युवराज सफलले दुवैजनाविरुद्ध उजुरी दिएका हुन् ।
सफलले उजुरी दर्ता गर्दै दुवैजनाको उम्मेदवारी रद्द गरी हदैसम्मको कारबाहीको माग गरेका छन् । माओवादी अध्यक्ष दाहालले १० वर्षे जनयुद्धका क्रममा मरेका १७ हजारमध्ये ५ हजारको जिम्मा लिने भनेर सार्वजनिक अभिव्यक्ति दिएकाले उनको उजुरी रद्द गरी हदैसम्मको कारबाही गर्न माग गरिएको छ ।
उजुरीमा भनिएको छ, ‘दशवर्षे जनयुद्धको क्रममा आफूलाई १७ हजारको हत्या गरेको आरोप लाग्ने गरेको बारे टिप्पणी गर्दै मिति २०७६ माघ ०१ गतेका दिन उम्मेदवार दाहालले आफूले ५ हजार व्यक्ति मरेको जिम्मा लिने भन्दै खुलेआम तथा सगौरव आम हत्या तथा नरसंहारको जिम्मा लिएर आफू अपराधी भएको स्वयं स्विकार गरेको र उनले बोलेको सो कुरा आमजनसमुदाय र सिंगो राष्ट्रलाई समेत जानकारी भएकोले निज दाहाललाई मुलुकी अपराध संहिता २०७४ को दफा १७७ को उप दफा (२)बमोजिम हदैसम्म कारबाही गर्न आवश्यक देखिएकोले तत्काल निजको उम्मेदवारी रद्द गरी आवश्यक कारबाही गर्नु हुन अनुरोध छ ।’
यसरी खुलेआम तथा सगौरव सार्वजनिक कार्यक्रममा ५ हजारको हत्या भएको जिम्मेवारी लिन्छु भनेर चुनौती दिँदा भोलिका दिन आमनरसंहार र हत्याजस्ता घटना थप बढ्ने र त्यस्ता व्यक्ति चुनावमा उम्मेदवार बन्दा भोलिको लागि गलत नजिरसमेत बस्ने हुँदा निजलाई तत्काल कारबाही गर्न उनले माग गरेका छन् ।
त्यसैगरी रौतहटको गौरमा उपेन्द्र यादवको नेतृत्वमा ०६३ सालमा २७ जना माओवादी कार्यकर्ताको बीभत्स हत्या भएके भन्दै उनको पनि उम्मेदवारी रद्द गर्दै यादवलाई हदैसम्मको कारबाही गर्न सफलले माग गरेका छन् ।
‘२०६३ चैत्र ०७ गतेका दिन रौतहट जिल्लाको सदरमुकाम गौर नगरपालिकास्थित राइस मिल मैदानमा तत्कालीन उपेन्द्र यादव नेतृत्वको मधेशी जनअधिकार फोरमका नेता तथा कार्यकताले तत्कालीन नेकपा माओवादीको कार्यक्रममा हमला गरी २७ जना नागरिकको विभत्स हत्या गरेको कुरा आयोगलाई अवगत नै छ,’ सफलको उजुरीमा भनिएको छ, ‘सो घटनाको सन्दर्भमा जिल्ला प्रहरी कार्यालय रौतहट गौरमा उपेन्द्र यादवसहित ११३ जनको विरुद्ध कर्तव्य ज्यान मुद्दासमेत परी मुद्दा विचराधिन रहेको छ । तसर्थ आम नरसंहारमा संलग्न प्रतिनिधि सभा सदस्यको उम्मेदवार उपेन्द्र यादवको उम्मेदवारी रद्द गरी तत्काल विचराधिन मुद्दा ब्युँताई आवश्यक कारबाही गर्न सम्मानित निर्वाचन आयोग समक्ष यो उजुरी पत्र पेस गरिएको छ ।’
गौर हत्याकाण्डका प्रमुख योजनाकार उपेन्द्र यादव भएको दाबी गर्दै उनलाई कानुनअनुसार कारबाही गर्न निर्वाचन आयोगले सम्बन्धित निकायलाई पत्राचार गर्नु आयोगको दायित्व भएको निवेदकको ठम्याइ छ ।




तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


