यूएईविरुद्धको दोस्रो खेलमा नेपाल तीन विकेटले विजयी

काठमाडौं, ३० कार्तिक । यूएईविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत दोस्रो खेलमा घरेलु टोली नेपाल विजयी भएको छ ।नेपाल बुधबार सम्पन्न खेलमा तीन विकेटले विजयी भएको हो ।
नेपालको यो जितसँगै तीन खेलको सिरिज १–१ को बराबरीमा आएको छ । १९२ रनको लक्ष्य नेपालले ४७.५ ओभरमा ७ विकेट गुमाउँदै भेट्टायो ।
नेपालका लागि गुल्सन झाले सर्वाधिक ३७ रनको योगदान दिए । कुशल भर्तेलले ३५, आरिफ शेखले अविजित३३, ज्ञानेन्द्र मल्लले २६, सोमपाल कामीले अविजित १६ र दीपेन्द्रसिंह ऐरीले १३ रन जोडे ।
यूएईका लागि रोहन मुस्ताफाले तीन,हजरत बिलालले दुई तथा बसिल हामिदले एक विकेट हात पार्दा एक विकेट रन आउटका रूपमा प्राप्त भयो ।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ राजेको यूएईले ४३.२ ओभरमा सबै विकेट गुमाउँदै १९१ रन बनाएको थियो ।
उसका लागि मोहम्मद वसिमले ४६ बलमा चार चौका र तीन छक्कासहित ५० रनको अर्धशतकीय पारी खेले । अलिसान सराफुले ३५, वृत्य अरविन्दले २५, बसिल हामिदले २४, कप्तान सिपी रिजवानले २२ र विष्णु सुकुमारनले १५ रन जोडे ।
नेपालका लागि सोमपाल कामी र ललितनारायण राजवंशीले तीन/तीन तथा करण केसी,गुल्सन झा, दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले एक/एक विकेट लिए ।
पहिलो खेलमा नेपाल ८४ रनले पराजित भएको थियो । सिरिजको तेस्रो तथा अन्तिम खेल शुक्रबार हुनेछ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


