जनकपुरधाम, ३० कार्तिक । नेकपा माओवादी केन्द्रले पार्टीका ६ जना नेतासँग स्पष्टीकरण सोधेको छ ।

गठबन्धन दलका आधिकारिक उम्मेदवारको विरुद्धमा प्रचारप्रसार तथा मत मागेको भन्दै माओवादी केन्द्र मधेस प्रदेशले पार्टीका ६ जना नेतासँग स्पष्टीकरण सोधेको हो ।

पार्टीका मधेस प्रदेश इन्चार्ज गणेश साहले बुधबार एक विज्ञप्ती जारी गर्दै माओवादी केन्द्रका मधेश प्रदेश कमिटि सदस्य भरत कुमार थापा, शिव पुजन यादव, रमेश बुढाथोकि (कमल), सर्लाही जिल्ला कमिटी सदस्य मोहन लाल श्रेष्ठ, हरिवन नगर कमिटी अध्यक्ष तारा राज पन्त र रामनगर गाउँपालिका कमिटी अध्यक्ष राजाबाबु यादवसँग स्पष्टीकरण माग गरेका छन् ।

विज्ञप्तिमार्फत संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठवनधनको मुलभाव सहित मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य पदको निर्वाचनमा दलहरुको बिचमा सहमति भई बनेका नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका उम्मेदवारको विरुद्ध एवम् गठबन्धन दल बिचको सहमतिमा बनेका गठबन्धन दलका आधिकारिक उम्मेदवारको विरुद्धमा वागी उम्मेदवारको पक्षमा प्रचारप्रसार तथा मत नमाग्न सचेत गराइएको छ ।

पार्टीको केन्द्रीय कार्यालय र मधेश प्रदेश कार्यालयले प्रेस विज्ञप्ति मार्फत सचेत गराइसक्दा पनि गठबन्धन विरुद्ध खुला रुपमा स्वतन्त्र उम्मेदवारको पक्षमा मत माग्दै हिँडेको र गठबन्धनको पक्षमा कुनै किसिमको गतिविधिमा संलग्न नभएकोले २४ घण्टाभित्र चितबुझदो कारण सहित जवाफ दिन उनीहरुलाई सचेत गराइएको छ ।

उनीहरुले २४ घण्टाभित्र चितबुझदो कारण सहित लिखित जवाफ नदिए अनुशासनको कारवाही गरिने नेकपा माओवादी केन्द्रका मधेस प्रदेश इन्चार्ज गणेश साहले बताए ।